डिकी र छतमा पशुपन्छी ढुवानी गरे कारबाही
वि.सं.२०७५ असोज २७ शनिवार १५:१७
shares

पशुसेवा विभागले पशुपन्छीलाई सवारी साधनमा ढुवानी गर्दा यातना हुनेगरी नगर्न आग्रह गरेको छ ।
याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ । पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न पनि विभागले व्यवसायीसँग आग्रह गरेको छ ।
रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपन्छीलाई निसंक्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ ।
विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा पशुपन्छीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी नगर्न पनि सबैसित आग्रह गरिएको छ । यस्ता कार्य गरिए तीन महीना कैद र रू पाँच हजार जरिवाना हुने प्रावधान छ ।
विशेषगरी चाडपर्वमा मासुका लागि खसी, बोका, भेडा, च्यांग्र्रा, राँगा, भैँसी, हाँस, कुखुराजस्ता पशुपन्छी बढी ढुवानी हुने गर्दछ । एक तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र मात्र वर्षेनी पाँच अर्ब रुपैयाँ भन्दा बढीको मासु खपत हुने गर्दछ ।
देशभित्र उत्पादित पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री एक जिल्लाबाट अर्काे जिल्लामा ओसारपसार गर्दा अनिवार्य उत्पत्तिकोे प्रमाणपत्र, दर्तावाल पशुचिकित्सकबाट जारी भेटेनरी प्रमाणपत्र साथमा राख्न, बाह्य मुलुकबाट पशु–पक्षी तथा उत्पादनका सामग्री आयात–निर्यात गर्दा क्वारेन्टाइन चेकपोष्टमा जाँच गराई प्रमाणपत्र लिन पनि विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।(रासस)

























