पूजा हेर्न गएकी १० वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि हत्या
वि.सं.२०७५ असोज २८ आइतवार ०३:०३
shares

धनुषाको परवाहामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । शुक्रबार साँझ आमावुवासँग स्थानीय दुर्गा मन्दिरमा पूजा हेर्न गएकी औरही गाउँपालिका-२, परवाहा बस्ने राम अशिष यादवकी छोरी मनिता यादवलार्इ घर फर्किंदै गर्दा बाटोबाटै अपहरण गरी बलात्कार गरेर हत्या गरिएको हो ।
छोरी शनिबार बिहानसम्म घर नफर्किएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा उनको शव नग्न अवस्थामा धानखेतमा फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हत्या आरोपमा दुर्इजना पक्राउ
मनितालाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले परवाहाका ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी मण्डललार्इ पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालार्इ जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनाैं बित्दा पनि हत्यारा पत्ता नलागिरहे बेला बलात्कार र हत्याका शृंखला रोकिएका छैनन् । अधिकारकर्मीहरू बलात्कारी र हत्यारालार्इ कारबाही नभएका कारण अपराधीको मनोबल बढेको बताउँछन् ।

























