मेलम्चीले समय मागेपछि त्रिपुरेश्वर-कलंकी कालोपत्रे रोकियो
वि.सं.२०७५ असोज २८ आइतवार ०२:३२
shares

मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर-कलंकी सडकखण्डको कालोपत्रे गर्ने कार्य पछि धकेलिएको छ । धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले सडकमै पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो ।
कालोपत्र गर्नेवित्तिकै सडक खन्नुपर्ने अवस्था आएकाले आवश्यक समन्वय गरिएको आयोजनाले जनाएको छ । सोल्टिमोड-कलंकी खण्डमा दसैंअगावै कालोपत्र सम्पन्न गर्ने तयारी भएको भए पनि मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन सो सडकखण्ड थप खन्नुपर्ने भन्ने स्वीकृतिका लागि अनुरोध गरेको जनाएको छ ।
राजधानीको बढी चहलपहल हुने र बढी सवारी चाप भएको सडक कालोपत्रे नहुँदा स्थानीयाबासी र यात्रु सबैभन्दा बढी मर्कामा परेका छन् । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले आज सूचना जारी गरेर सो सडकखण्डको कालोपत्र गर्ने कार्य केही पछि सर्ने जनाएको हो ।
काठमाडौं महानगरपालिका-१४ का उपभोक्ताले समेत पाइपलाई बिच्छ्याएपछि मात्रै सडक कालोपत्रे गर्न आग्रह गरेको सूचनामा उल्लेख छ । आयोजना कार्यान्वयन निर्देशनालयले कात्तिक ८ गतेदेखि मात्रै खानेपानीको पाइपलाइन बिछ्याउने कार्यतालिका बनाएको छ । सडकलाई यथास्थितिमा ल्याइसकेपछि मात्र आयोजनाले कालोपत्रे गर्ने जनाएको छ । राजधानीका निर्माणाधीन सडकको साझा समस्याको रुपमा निर्माण व्यवसायीको कार्यशैली नै देखिएको छ ।
वर्षौंसम्म काम नगर्ने निर्माण व्यवसायीको कार्यशैलीका कारण सडक विस्तार एवं मर्मत कार्य समस्यामा पर्ने गरेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले पोल नसार्दा समस्यामा पर्ने गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको राजधानीका केही स्थानमा पाइप बिच्छ्याउने कार्यलाई तीव्रता दिएको छ । उता, कलंकी-नागढुंगा सडकखण्डमा सामान्य मर्मतको काम भए पनि कालोपत्रको काम भने तिव्र रुपमा अगाडि बढ्न सकेको छैन ।
बौद्ध-जोरपाटी सडकखण्डको कालोपत्रको काम पनि अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक सो सडकखण्डको मर्मतमा ध्यान दिन निर्देशन दिए पनि निर्माण हुन सकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार कागेश्वरी मनहरा नगरपालिकाले आयोजना गरेको शुभकामना कार्यक्रममा समेत सो सडकखण्डको मर्मतमा ध्यान दिने भन्दै निर्माण व्यवसायीलाई छिटो काम सकाउन निर्देशन दिएका थिए । उनले वर्षाका कारण सडक मर्मतमा समस्या भए पनि छिट्टै काम सकिने विश्वास दिलाएका थियो ।
(रासस)

























