अस्ताए रणनीतिकार कांग्रेस नेता बास्तोला
वि.सं.२०७५ असोज २८ आइतवार १६:१९
shares

कांग्रेसका लोकप्रिय नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । उनी कांग्रेसका बागी र किङमेकर नेता मानिन्थे । पूर्वमन्त्री बास्तोला २०६९ साल पुस १४ गते विराटनगरमा भएको बास्तोलाको कूलपूजामा सामूहिक तस्बिर खिच्ने क्रममा लडेका थिए । उनलाई तत्काल उपचारको लागि न्यूरो अस्पताल भर्ना गरियो । त्यहाँ निको नभएपछि दिल्लीको मेदान्त अस्पतालसम्म पुर्याइयो । त्यहाँ तीन महिना उपचार गर्दा पनि पूर्ववत् अवस्थामा नआएपछि उनलाई स्वदेश फर्काइएको थियो ।
दिल्लीबाट काठमाडौं फर्काएर उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गरियो । त्यहाँ सात महिना राखियो । तर पनि उनकाे स्वास्थ्यमा सुधार भएन । देश विदेशका नाम चलेका डाक्टरहरु बास्तोलाको उपचारमा संलग्न रहे । तर उनको स्वास्थ्यमा सुधार आउन सकेन् ।
अथक प्रयास गर्दा पनि निको नभएपछि परिवारले उनालाई घरमै राखेर हेरचाह गर्दै आएका थिए । ०७० कात्तिकदेखि भने घरमै आइसियु बेड राखेर आराम गराईएको थियो ।
पत्नी कुसुम आचार्यले बास्तोलाले हेरचाहमा गर्दै आएकी थिईन् । मस्तिष्कघातका कारण बास्तोलाको शरीरको कुनै पनि भाग चल्दैन थियो । बास्तोला सामान्य रुपमा खाना खान समेत नसक्ने भएका थिए । उनलाई पाइपबाट खाना खुवाइएको थियो । पत्नी कुसुमको सक्रिय रेखदेखमा बास्तोलाले अति कठिन दिनहरु बिताइरहेका थिए । उनका २ छोरी छन् । दुवै छोरी विदेशमा बस्दै आएका छन् ।
भारतीय अदालतमा मुद्दा खेप्नुपरेपछि
०४८ को संसदीय चुनाव उनी झापाबाट उम्मेदवार भएका थिए । तर पराजित भए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बास्तोलालाई भारतका लागि राजदूत सिफारिस गरेको थियो । विमान अपहरणको मुद्दा उनले भारतीय अदालतमा खेप्नुपर्याे ।
बास्तोलाको विषयमा सरकारले भारत सरकारलाई मनाएपछि बल्ल राजदूत बन्न सफल बनेका थिए । पञ्चायतविरुद्ध आन्दोलनमा सक्रिय बाँस्तोला २०५६ सालको संसदीय निर्वाचनपछि बनेको गिरिजाप्रसाद नेतृत्व सरकारमा परराष्ट्रमन्त्री थिए । पूर्वराजदूत समेत रहेका बास्तोला माओवादीलाई शान्ति प्रकृयामा ल्याउन समेत सक्रिय थिए ।
बास्तोला बिपीको प्रेरणाले ०१७ सालबाट राजनीतिमा होमिएका थिए । बीपीबाटै समाजवादी दीक्षा पाएका थिए । तर, चर्चित विमान ०३० सालको विमान अपहरणको एक नाइके थिए । त्यसै कारण उनी पनि चर्चित बनेका थिए । बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) मा राजनीतिशास्त्रका पोस्टग्र्याजुएट गरेका थिए ।
रणनीतिकार नेता
बास्तोला कांग्रेसभित्रका सीमित बौद्धिक नेताहरुमा पर्थे । विपीबाट प्रभावित भएकाले सिद्धान्त र दर्शनमा उनको गहिरो रुचि थियो । पार्टीको चुनावी घोषणापत्र लेखनका बेलामा समेत उनी पहिलो रोजाइमा पर्थे । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको घोषणापत्रमा लेखन समितिमा पनि उनी सदस्य थिए । पार्टी नेतृत्वमा छाउन भन्दा निती तथा रणनीतिक विषय व्यवस्थापनमा रुचि राख्ने उनले कहिलै पदको लोभ देखाएनन् । जोखिम मोल्ने नेताको परिचय बनाएका उनी रणनीतिकार नेताको छवि बनाएका थिए ।
युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बास्तोलाले सक्रिय भूमिका खेलेका थिए । पार्टीमा तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालासँग निकट रहेकाले बास्तोलाले माओबादीसँग वार्ता गर्ने क्रममा सम्पर्क सुत्रको विषेश भुमिका खेलेका तत्कालिन माओवादीका नेताहरु बताउँछन् ।
काग्रेस नेता रोमी गौचन थकाली भन्छन्, ‘चक्र जी निडर हक्की र रणनीतिकार नेता हुनुहुन्थ्यो, उहाँले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन विषेश सुत्राधारको भुमिका खेल्नु भएको थियो ।’
























