काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनकपुरको सौन्दर्य : सरोवरै–सरोवर तर छैन संरक्षण

17.47K
shares

जनकपुरधामलाई पोखरीहरुको सहर भनेर चिनिन्छ । प्राचीनकालमा समेत जनकपुरधामलाई ५२ कुण्डका रुपमा चर्चा गरिएको छ । जनकपुरधामका अधिकांश सरोवरहरुको आफ्नै इतिहास र महत्व छ । जनकपुरमा कतिपय सरोवर प्राकृतिक छन् भने कतिपय मानव निर्मित छन् ।

जनकपुरधामको चारैतिर धार्मिकस्थल र सरोवर छन् । किंम्बदन्तीअनुसार माता सीताको विवाह उत्सवमा मर्यादा पुरुषोत्तम भगवान रामका साथमा आएका जन्तीलाई स्वागतका लागि महोत्तरीको जलेश्वर, धनुषाको महेन्द्रनगरमा क्षिरेश्वरनाथ, धनुषाकै सतोषर, भारतको कलना, विसौलसहितका स्थानमा विश्रामस्थल राख्ने क्रममा धार्मिक पोखरी निर्माण गरिएको थियो । जनकपुरधाम नगरभित्र मात्रै १६ वटा पोखरी रहेको भनिए पनि हाल ६८ वटा पोखरी रहेको डा. मखन झाको अनुसन्धानमा आधारित लेख मिथिला महात्म्यमा उल्लेख छ ।

जनकपुरको निकै चर्चित धार्मिक आस्थाको केन्द्र पवित्र स्थलको रुपमा गंगासागर र धनुष सागरलाई लिइन्छ । गंगासागरमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भइनुका साथै छालासम्बन्धी रोग निको हुने धार्मिक विश्वास छ । जनकपुरधाममा रहेका महत्वपूर्ण तथा चर्चित धार्मिक पोखरीहरुमा धनुष सागर, गंगासागर, रामसागर, विषहर सर, मुरली सर, महाराज सर, पापमोचनी, अरगजा सर, जनक सरोवर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर, अग्निकुण्ड, सीता कुण्ड, विडाल सर, लक्ष्मण सर, गोरधई पोखरी, ज्ञानकुपलगायत छ ।

सार्वजनिक स्थल र सरोवर अतिक्रमणको चपेटामा
जनकपुरधाममा बढ्दो जनसंख्या वृद्धिदर र बसाइँसराइका कारण पोखरीहरु प्रत्यक्ष प्रभावित भएका छन् । कुनै बेला जलले भरिपूर्ण धार्मिक पोखरीका वरिपरि घना बस्ती बढ्दै गएको छ । ती बस्तीमा रहेका घरको ढल र निकासका साथै पोखरीलाई निजी जस्तो गरेर प्रयोग गरिन थालेपछि पोखरी फोहोरमैला फाल्ने स्थलको रुपमा परिणत हुँदै गएको छ ।

धार्मिक तथा सार्वजनिक पोखरी अतिक्रमण गर्दै स्थानीयले पोखरी पुर्दै निजी घरसमेत बनाएका छन् भने पोखरी भएका स्थानको प्रमाणसमेत नष्ट गर्दै आलिशान महल, होटल र अस्पतालमा बनाइएको छ ।

सार्वजनिक स्थल, मठ, मन्दिरहरुको संरक्षण गर्ने जिम्मेवारी पाएका गुठी संस्थान, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयसहित विभिन्न धार्मिक संघ–संस्थाले समेत पोखरीहरुको संरक्षण सम्वद्र्धनमा खासै चासो दिएको पाइँदैन ।

सागर बचाउन महागंगा आरती
पोखरी अतिक्रमण र फोहोरमैला बढेको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका तत्कालीन अध्यक्ष एवं प्रदेश नम्बर २ का सांसद रामाशिष यादवको नेतृत्वमा गंगासागरसहितका पोखरीको सरसफाइ र बचाउन अभियान सुरु गरिएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष रामकुमार शर्माको नेतृत्वमा आधा दर्जनभन्दा बढी अतिक्रमित निजी घरटहरालाई अतिक्रमणमुक्त बनाउन अभियान चलाइएको थियो । तर, सो अभियान आफ्नो काम पूरा नगर्दै बीचैमा रोकियो ।

समाजसेवी यादवसहितको सहयोगमा गंगासागरको सरसफाइ गरी हाल दैनिक महागंगा आरती गरिँदै आएको छ । दैनिक हजारौं श्रद्धालु भक्तजन साँझको गंगाआरतीमा सहभागी हुँदै आएका छन् । सांसद रामाशिष यादव अतिक्रमण रोक्न तथा पोखरी सफा राख्न गंगासागरमा दैनिक आरती गर्न थालेको बताउँछन् ।

पोखरी ताल हाम्रा सम्पदामात्र होइन, सहर, गाउँ र अपितु आफ्नै घरको सौन्दर्यको पर्याय पनि हुन् । तर, आँगनमै रहेको पोखरी अतिक्रमण गर्नु तथा फोहोर फाल्नु आफैंलाई निकृष्ट सावित गर्नु हो । स्थानीय सम्पदा संरक्षणका लागि अब स्थानीय र प्रदेश सरकारले बढीभन्दा बढी ध्यान पुर्याउनुपर्ने बुद्धिजीवी बताउँछन् ।