स्मसानघाटमा भूतनाथ मन्दिर, पहिले डराउँथे, अचेल रमाइलो मानेर घुम्छन्
वि.सं.२०७५ कात्तिक १ बिहीवार १६:५५
shares

जनकपुरधामको स्मसानघाट अर्थात् स्वर्गद्वार कुनै बेला निकै फोहोर र दुर्गन्धित थियो । दिउँसै एक्लै त के सामूहिक रुपमा समेत मानिस जान डराउने स्वर्गद्वार सरसफाइ र संरक्षणपछि युवापिँढी र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
जनकपुरको गंगासारको दक्षिणतर्फ रहेको स्वर्गद्वार युवाको घुमफिरको साथै मनोरञ्जन गर्ने स्थलको रुपमा परिणत भएको हो । जनकपुरमा आउने स्वदेशी र विदेश पर्यटकसमेत खोजी–खोजी स्वर्गद्वार स्थलमा निर्माण गरिएको बाबा भूतनाथ मन्दिरको दर्शन गर्ने गरेका छन् । स्वर्गद्वारमा लगाइएको सुन्दर फूलहरुको बास्नाले त्यहाँ पुग्ने जो–कोहीलाई आनन्दित तुल्याउने गरेको छ ।

जनकपुरमा स्मसानघाटको इतिहास निकै पुरानो छ । स्मसानघाटलाई आधुनिक भवन र आधुनिक सजावटले भरिपूर्ण बनाइएको धेरै भएको छैन । तर, त्यहाँ पुग्ने हरेक व्यक्ति मन र मस्तिष्कमा त्यहाँको दृष्य लिएर फर्किने गरेका छन् ।
जनकपुरका समाजसेवी पवन सिंघानियले ठूलो रकम आफूले खर्च गरी आधुनिक स्वर्गद्वार निर्माण गरेका हुन् । केही अपुग रकम अन्य व्यापारीबाट संकलन गरी बनाइएको स्वर्गद्वारभित्र भव्य भूतनाथ मन्दिर र सुन्दर बगैंचामा बनाइएको छ । बगैंचामा ढकमक्क फुलेका थरी–थरीका फूलको मगमग बास्ना स्वर्गद्वारको मुख्य आकर्षण बनेको छ ।
अचेल दिउँसोमात्र होइन, साँझ, बिहान र अबेरसम्म पनि स्वर्गद्वारमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । भूतनाथ आखिर ‘भूत’ नै हो तर मन्दिरभित्र भूतनाथको मूर्तिले मानिस दिमाग अप्रत्यासित परिवर्तन भएको छ । विगतमा समूहमा समेत जान डराउने स्थानीयसमेत अहिले भूतनाथ मन्दिर र पार्कमा रमाइलो मानेर घुम्ने गरेका छन् ।




























