तमिलनाडुको एक मन्दिर जहाँ महिलाले रजस्वाल भएको बेला पनि पूजा गर्छन्
वि.सं.२०७५ कात्तिक ५ सोमवार २१:१२
shares

धेरैले रजश्वला भएकी नारीलाई मन्दिरमा पूजा आज नगर्न भन्छन् । तर, भारतमा एउटा यस्तो मन्दिर पनि छ, जसले महिलालाई रजस्वलाका बेला पनि प्रवेश दिने गरेको छ । त्यस मन्दिरमा त्यस्ता महिलालाई कुनै भेदभाव गरिँदैन ।
तमिलनाडुस्थित आदि पराशक्ति मन्दिरमा महिलाहरू विना कुनै रोकटोक पवित्र स्थानसम्म जान पाउँछन् र दशकौंदेखि उनीहरूलाई त्यसको अनुमति छ । महिलाको रजस्वलालाई सो मन्दिरले एउटा सामान्य शारीरिक परिवर्तन ठान्दछ ।
दक्षिण भारतका अधिकांश मन्दिर जस्तै यो मन्दिरमा पुजारी पनि छन् । मन्दिरमा पुरुष सरह महिलाहरू पनि यो मन्दिरको पवित्र गर्भसम्म जान पाउँछन्, र पूजा गर्न पाउँछन् । यो मन्दिरमा जाति, धर्म, लिङ्ग र उमेरको कुनै अर्थ हुँदैन ।
स्थापना र विश्वास
केही दशकअघि चेन्नइ विल्लुपुरम राजमार्ग नजिकै पर्ने मरुवथुर गाउँस्थित एउटा विद्यालयका शिक्षक बंगारुले एउटा नीमको रुखबाट दूध निस्कँदै गरेको देखेको बताए ।
उनले त्यस्तो दावी गरेको केही दिनपछि ठूलो आँधी आउँदा रुख ढल्यो । अनि उनले त्यहाँ स्वयम्भू लिङ्ग प्रकट भएको बताए । त्यसपछि उनले आफूलाई शक्ति भन्न थाले र पहिला नीमको रुख भएकै स्थानमा पराशक्ति मन्दिरको निर्माण गराए । सो मन्दिरमा आदि पराशक्तिको मूर्ति स्थापना गरे पछि बंगारुले बिस्तारै मानिसहरूलाई उपदेश पनि दिन थाले ।
बिस्तारै उनको लोकप्रियता बढ्दै गयो र तमिलनाडु र आसपासका राज्यबाट पनि मानिसहरू उनका कुरा सुन्न आउन थाले । मन्दिरको दायरा बढ्दै गयो ।
केरेलाको सबरीमाला मन्दिरमा भने १० देखि ५० बर्ष उमेर समुहको महिलालाई मन्दिर पस्न दिइदैँन । भारतको सर्वोच्च अदालतले महिलाको पक्षमा एउटा निर्णय सुनाउँदै सबै उमेर समूहका महिलालाई केरलाको सबरीमाला मन्दिरमा प्रवेश दिन भनेपछि त्यसको विरोध भइरहेको छ । फैसलाको विरोधमा मन्दिर वरिपरि मानिसहरूले अझै धर्ना दिने क्रम जारी छ ।
शुक्रबार कडा सुरक्षाबीच दुईजना महिलाले उक्त मन्दिरमा प्रवेश गर्ने प्रयत्न गरे पनि विरोधका कारण उनीहरू छिर्न पाएनन् ।
बिबिसीबाट साभार

























