जनकपुरमा बन्ने भयो अत्याधुनिक प्रशुतिगृह
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार २२:४०
shares

जनकपुरमा अत्याधुनिक सेवासुविधा सम्पन्न प्रशुतिगृह निर्माण हुने भएको छ । अमेरिकन राजदूतावासको करिब ९ करोडको आर्थिक सहयोगमा निर्माण हुने उक्त प्रशुतिगृहको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शिलान्यास गरे ।
जनकपुर अञ्चल अस्पतालमा प्रशुति गराउनेहरुको सख्या दिनप्रतिदिन बढी रहेको बेला अत्याधुनिक सेवासुविधा सम्पन्न दुई तल्ले भवनको शिलान्यास गरिएको छ । प्रशुतिगृह निर्माणका लागि काठमाडौंस्थित सिबिसी कन्सर्न निर्माण गर्ने ठेक्का पाएको छ । एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको हो ।
कम्पनीले निर्माण कार्य थालेको एक वर्षभित्र प्रशुतिगृह भवन, बेडसहितको सरसामानसहित जनकपुर अञ्चल अस्पताललाई जिम्मा लगाउने निर्माण कम्पनीका इन्जिनियर मनोहर सेरचनले बताए ।
जनकपुर अञ्चल अस्पतालका प्रमुख रामपरीक्षण यादवको अध्यक्षतामा आयोजित भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री उपेन्द्र यादवले प्रशुतिगृह निर्माणपछि धनुषा, महोत्तरीलगायत यस क्षेत्रका प्रशुती सेवा लिने बासिन्दाहरु लाभान्वित हुनुको साथै मातृत्व र नवजात शीशुलाइ सहज हुने बिश्वास व्यक्त गरेका छन् ।
मन्त्री यादवले जनकपुर माता जानकिको स्थल भएकाले यस क्षेत्रलाई हराभरा बनाइनु पर्नेमा जोड दिएका छन् । उनले भने जनकपुरलाई प्रदेश २ कै मेडिकल हब बनाउने बताउँदै विशिष्ट सेवाका साथै अन्य स्वास्थ्य सेवा जनकपुरमै उपलब्ध हुने गरी कार्यको थालनी भएको बताए ।
कार्यक्रममा जनकपुर अञ्चल अस्पतालका प्रमुख डाक्टर रामपरीक्षण यादवले जनकपुर अञ्चल अस्पतालमा दैनिक ५० देखि ६० जनालाई प्रशुती सेवा दिँदै आएकोमा दैनिक ८ देखि १० जना सिकिस्त बिरामी आउने गरेको बताएका छन् । उनले प्रशुती गराउनेहरुको संख्या वृद्धि भए पनि अस्पतालमा उपकरण र जनशक्ति अभावले समस्या आउने गरेको बताए । बीच–बीचमा प्राविधिक समस्याले प्रशुतिका लागि आउने आमा र नवजात शिशुको मृत्यु समेत हुँदै आएकोमा अब बन्ने अत्याधुनिक सेवासुबिधा प्रसुतिगृहबाट सेवाग्राही लाभान्वित हुने उनको भनाई थियो ।

























