दाजुभाइ दिदीबहिनीबीच प्रेमको प्रतीक ‘सामाचकेवा’
वि.सं.२०७५ मंसिर ४ मंगलवार १४:३७
shares

दाजुभाई दिदीबहिनीहरुको प्रेमको प्रतिकको रुपमा मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने धार्मिक र सांस्कृतिक पर्व मध्ये सामाचकेवा एक हो । खास गरी दिदीबहिनीहरुले दाईभाईको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्दै यो पर्व मनाउँछन् ।
कार्तिक शुक्ल पञ्चमीबाट सुरु कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म सामाचकेवा मनाइन्छ । यस वर्ष कार्तिक महिनाको २६ गते सोमवारबाट सुरु भएको सामाचेकवा मंसिर ७ गतेसम्म चल्नेछ । प्रत्येक साँझ खाना खाएर समूह–समूहमा दिदीबहिनी भेला भएर विभिन्न गीत संगितबाट मनोरञ्जनात्मक वातावरण बन्ने गर्छ । छठ पर्वको खरनाका दिन दिदीबहिनीहरुले दाजुभाईको हातबाट खनिएको माटो ल्याएर विभिन्न प्रकारका सामाचकेवा, चुकलाहरुको प्रतिमा बनाउने गर्दछन् ।
११ दिनसम्म मनाइँने सामाचकेवा पर्वको अन्तिम दिन सामाचकेवालाई विभिन्न रंग अविरले सजाइन्छ । मिथिलामा छोरीलाई विदाई गरेजस्तै दही च्युरा, मिठाईको भोज लगाएर जोतिएको खेतमा लगेर दाजुभाइकै हातबाट बनाइएको प्रतिमा भाच्न लगाइ सामाचकेवा विसर्जन गर्ने चलन रहँदै आएको छ ।
सामाचकेवा पर्व प्रदेश नम्बर २ को ८ वटै जिल्लाका साथै छिमेकी देश भारतको विहार राज्यको मिथिलाञ्चल क्षेत्रमा हर्षोउल्लासका साथ दिदीबहिनीहरुले मनाउँने गर्छन् । यो पर्व मनाउन मिथिलाका छोरी, बुहारीहरु आफनो माइतीमा जाने धनुषा बहुअर्वा बस्ने रिकु कुमारी महतोले जानकारी दिइन् ।
छोरीहरुले माइतीमै आएर मनाउने गर्दा छोरीहरुको परिवारसँग भेटघाटका साथै आफनो साथीहरुसँग समेत भलाकुसारी, सुख, दुःख र मनोरञ्जन गर्न पाउने समय हुने उनको भनाइ छ । सामाचकेवामा दिदीबहिनी माइती पुगेजस्तै दाजुभाई भने विसर्जनका समय देशविदेशबाट घर जाने गर्छन् ।
सामाचेकवा किन मनाइन्छ ?
मिथिला धर्मसंस्कृतिका जानकार रहेका साहित्यकार अशोक दत्त सामाचकेवा द्वापर युगमा भगवान कृष्णसँग जोडिएको घटनाको रुप हो भन्छन् । द्वापर युगमा कृष्णलाई कुनै व्यापारीको मणि चोरिएको आरोप लागेको थियो । तर ती मणि मंडितहरुले कुनै गुफामा लगेका हुन्छन । मणि चोरिएको आरोप लागेका कृष्ण मणिको खोजी गर्दै जाँदा गुफामा मणिसंग जामवती नामका एक बालिका खेल्दै गरेको देख्छन् ।
मणिको लागि जामवतीसँग निकै युद्ध हुन्छ पछि जामवतीले मणि दिँदै आफ्नो पुत्री श्यामाको विवाह गर्ने शर्त राख्छिन् । श्यामाको नाम अहिले सामाको रुपमा चिनिन्छ । यो त्रिकोणात्मक प्रेममा आधारित कथा हो । श्यामा र चक्रवादको प्रेम प्रसंग रहेको बताइन्छ भने चुकल जसलाई चुगला भनिन्छ उसले श्यामालाई भित्र भित्रै मन पराइरहेको हुन्छ । श्यामा र चक्रवादबीच झगडा लगाउनको लागि कृष्णकोमा पुगेर गलत सूचना दिइएको थियो । कृष्ण रिसाएर श्यामालाई चिडै हुने श्राप दिन्छन् ।
कृष्णको श्रापले श्यामा चिडै बनेपछि उनको प्रेममा लिप्त चक्रवादले महाघोर तपश्या गर्दै भगवानको वरदानबाट आफनो प्रेमिकासँग मिलनका लागि चिडै नै बन्ने गर्छन् । चिडै बनेर बृन्दावनमा गएपछि पुनः रिसाएर चुगललाइ दुःख दिनका लागि बृन्दावनमा आगो लगाइन्छ ।
शिक्षा दिक्षाका लागि बाहिर रहेका श्यामाका भाई (साम) घर आए श्यामाको खोजी गर्दा श्यामाका साथी र अंगरक्षक बहुलीले कृष्णको श्रापले चिडै बनेको सूचना दिन्छन् । बेचैन सामले घोर तपश्या गर्दै पाएको वरदानले चुगलाले बृन्दावनमा लगाएको आगो निभाउँदै श्यामा र चक्रवादलाई पुनः मनुष्य जीवनमा फर्काउन सफल हुन्छ । भाईले बहिनीको जीवन रक्षा गरेकाले दिदीबहिनीहरुले भाईको दीर्घायुको कामना गर्दै सामाचकेवा पर्व मनाउन थालिएको जनविश्वास छ । चुगलाले झगडा लगाएको आरोपमा उनको मोझ र जुँगा दियोमा पोल्ने चलन छ ।
बढदो सहरीकरणले सामाचकेवा छाँयामा
मिथिलाञ्चल क्षेत्रमा बढ्दो सहरीकरणले सामाचकेवा खेल्नेहरुको कमी छ । सहरी क्षेत्रमा बाक्लो बस्ती र रोजगारी तथा शिक्षादिक्षाका कारण नव पुस्ताका युवायुवती बढी समय दिदैनन् । भाईबहिनीहरुको आस्था, विश्वास र प्रेमको प्रतिकका रुपमा मनाइने धार्मिक सांस्कृतिक पर्व भएकाले गर्दा यसको संरक्षण र सम्वर्धन हुनु जरुरी छ । सामाचकेवाको जगेर्नाका लागि राज्यले नै सहयोग गर्नुपर्ने शिक्षक रामवृक्ष महतोको धारणा छ ।




























