काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पीपीएल : महँगो धनराशिको न्यून प्रभाव, बढ्न सकेन ‘क्रिकेट क्रेज’

14.41K
shares

सर्वाधिक धनराशि पुरस्कारको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता सकिएको दुई साता नबित्दै पोखरामा क्रिकेटको चर्चा सेलाउन थालेको छ । खेल अवधिभर पोखराको क्रिकेट मैदान चर्चामा रहे पनि अहिले विस्तारै ओझेल पर्न थालेको छ ।

प्रतियोगिता उद्घाटन हुँदै गर्दा कात्तिक ९ गते आकाश खुलेपछि सौन्दर्यकी रानी पोखरा सोह्र शृंगार गरेकी बेहुलीजस्तै भएको थियो । उसै पनि सुन्दर पोखरामा हिमालै हिमालको बीचमा डम्म फैलिएको मैदान हेरेर पोखरा बाहिरबाट आएकाहरु मोहित भएका थिए । तर, उद्घाटन तथा खेल अवधिभर सबैको ध्यान खिच्न सफल पोखरा रंगशालाको उक्त क्रिकेट मैदान प्रतियोगिता सम्पन्न भएसँगै चर्चा–परिचर्चाबाट अलग हुँदै गएको छ ।

प्रतियोगिता र चर्चा एकसाथ सकियो
त्यसयता पोखरामा क्रिकेट गतिविधि शून्यप्रायः छ । पोखरामा प्रतियोगिता सम्पन्न भएयता क्रिकेट र त्यससँग सम्बन्धित गतिविधि नभएपछि धेरैलाई पोखराको क्रिकेट विकासमा त्यसले प्रत्यक्ष प्रभाव पार्ने हो कि ! भन्ने चिन्ताले सताएको छ । प्रतियोगिता सम्पन्न भएयता न क्रिकेट प्रशिक्षण नै, न त कुनै गतिविधि नै हुन सकेका छन्, जसले पोखराको क्रिकेटलाई झक्झक्याइराखोस् ।

प्रतियोगिताका लागि क्विन्स इभेन्ट म्यानेजमेन्ट कम्पनीले तीन महिनामा करिब ३० लाख खर्चिएर अन्तर्राष्ट्रियस्तरकै क्रिकेट मैदान निर्माण गरेको थियो । तर, प्रतियोगिता सम्पन्न भएसँगै रंगशालाको क्रिकेट मैदानमा थप क्रिकेट गतिविधि र संरक्षणको कार्यले अपेक्षाकृत गति लिन सकेको छैन ।

समस्याको जड
एकातर्फ नेपाल क्रिकेट संघ आईसीसीबाट निलम्वित भएकाले जिल्ला खेलकुद विकास समिति तथा राखेपले समेत संघलाई प्राथमिकता नदिँदा थप समस्या आएको हो । क्रिकेट मैदान प्रयोग गरेबापत समितिले शुल्क लिने तर संघले बिना रकम संरक्षण गर्न नसक्ने अवस्थाका कारण क्रिकेट मैदान अलपत्र पर्ने शंका बढेको छ ।

पोखरामा जुन रुपमा पीपीएलले चर्चा र परिचर्चा पायो तर त्यसको दीर्घकालीन फाइदा पोखरेलीले लिन सकेका छैनन् । क्रिकेट मैदान प्राकृतिक छटाले उत्तिकै भरिपूर्ण भएकाले मैदानलाई न्युट्रल भेन्युका रुपमा प्रयोग गर्न सके पोखरासहित नेपालकै खेल पर्यटनको विकास हुनेमा सबै सहमत देखिन्छन् ।

pokhara-cricket-stedium-newskarobar
पोखरेली भन्छन्– संरक्षण होस्
प्रतियोगिताकै लागि भए पनि आयोजकले ठूलो धनराशि खर्च गरी निर्माण गरेको रंगशाला संरक्षणको अभावले अलपत्र पर्ने हो कि ! भन्ने चिन्ताले पोखरेलीलाई सताएको छ । क्रिकेट मैदानको दिगो रुपमा संरक्षण गर्न पोखरेलीको माग छ । माछापुच्छे«, अन्नपूर्णलगायतका हिमशृंखलाको काखमा अवस्थित रंगशालामा भएको खेल र त्यसले पाएको चर्चा पोखरेली बढी उत्साहित भएका छन् ।

प्रतियोगिताको अवधिमा अन्तर्राष्ट्रिय खेलाडी सन्दीप लामिछाने, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत खेलाडीले बलिङ र ब्याटिङ गर्दैगर्दा दर्शकको ध्यान त्यतिमा सीमित थिएन । उनीहरु रंगशालाको सौन्दर्य हेर्न उत्तिकै लालयित देखिन्थे । त्यस्तो मैदानलाई हालकै अवस्थामा राख्न सरोकारवाला निकायले चासो दिनुपर्ने पोखराका खेलकुदकर्मी अशोक पालिखे बताउँछन् ।

पोखरा रंगशाला क्रिकेट मैदान निर्माण समितिका पूर्वअध्यक्ष पालिखेले मैदान संरक्षणको जिम्मा सम्बन्धित संघलाई नै दिनुपर्ने बताएका छन् । ‘पोखराको खेलकुदको विकासका लागि कसले के गर्यो, कुन संघले खेल पूर्वाधारमा कस्तो भूमिका खेल्यो, उसलाई नै त्यसको दिगो रुपमा संरक्षण गर्ने जिम्मा दिनुपर्छ,’ पालिखेले न्युज कारोबारसँग भने, ‘बल्लतल्ल बनेको संरचनालाई कानुनी कुरा गरेर कसैले बिगार्न पाउँदैन ।’

जिल्ला खेलकुद विकास समिति कास्की र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले कास्की जिल्ला क्रिकेट संघका पदाधिकारीलाई क्रिकेट मैदान संरक्षणको जिम्मा दिनुपर्ने उनको भनाइ छ । डा. विरेन्द्रसिंह गुरुङको पहलमा पोखरामा क्रिकेट मैदान निर्माण सुरु भएसँगै बीचमा पाखिलेको पालामा निर्माणको काम भएको थियो । आफूहरुले अन्तर्राष्ट्रियस्तरकै हुने गरी पोखरा रंगशालामा ८५ मिटरको रेडिएसमा क्रिकेट मैदान निर्माण गरेको पालिखेले बताए ।

के गर्नुपर्छ ? तयार छौं : क्विन्स इभेन्ट
प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा क्रिकेट मैदानको संरक्षण र विकासमा आफूहरु प्रतिबद्ध रहेको बताए । एक करोडभन्दा बढी खर्च लागतमा क्रिकेट मैदान निर्माण भएको जानकारी दिँदै उनले भने, ‘प्रतियोगिताका लागि मैदान मर्मत तथा केही संरचना निर्माणमा मात्र करिब ३० लाख रुपैयाँ खर्च भएको छ ।’

क्रिकेट संघलाई हाल आईसीसीले निलम्बन गरेकाले मैदान निर्माणमा कसलाई जिम्मेवार बनाउने भन्ने विषयमा आफूहरु अन्योलमा परेको उनले बताए । ‘पोखरामा पहिलोपटक भएको पीपीएलबाट हामी निकै उत्साहित भएका छौं । निर्माण भएका भौतिक संरचनाका साथै क्रिकेट मैदान र पिचको संरक्षण हुनुपर्छ,’ प्रबन्ध निर्देशक लामाले न्युज कारोबारसँग भने, ‘यसमा हामीले के गर्नुपर्छ तयार छौं ।’

पीपीएल भएसँगै पोखरा रंगशालाको क्रिकेट मैदानको रेडिएस दुई मिटर फराकिलो पारिएको छ । थप दुईवटा पिच निर्माण गरिएका छन् भने दुईवटा शौचालय बनेका छन् । क्रिकेट मैदानमा हरियो घाँस उमारिएको छ ।

क्यान निलम्बित हुँदा काम गर्न सकिएन : सिग्देल
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट अम्पायर सञ्जयकान्त सिग्देलले आईसीसीले निलम्बन फुकुवा नगर्दा क्रिकेट मैदानदेखि विभिन्न प्रतियोगितासमेत आयोजना गर्न कठिनाइ भएको बताए । मैदानको संरक्षण गरी पिच मर्मतका लागि प्रदीप रावतलगायका कर्मचारीले माग राखे पनि पीपीएलदेखि उनीहरुलाई संघले तलब दिन नसकेपछि निकालिदिएको अध्यक्ष सिग्देलले बताए । ‘कर्मचारी आवश्यक भए पनि तलब दिने रकमको अभावमा राख्न सकेका छैनौं,’ उनले भने । पोखरामा सर्वाधिक धनराशिको पीपीएल क्रिकेट प्रतियोगिता भए पनि त्यसको क्रेजले विभिन्न क्लब, विद्यालय तथा कलेजका विद्यार्थी तथा खेलाडीलाई आकर्षित गर्न नसकेको अध्यक्ष सिग्देलले बताए ।

हाल सञ्चालनमा रहेका चारवटा पिचमा विभिन्न प्रतियोगिता तथा खेलाडी प्रशिक्षणका लागि दुईवटा पिच प्रयोग गर्ने आफूहरुले तयारी गरेको सिग्देलले जानकारी दिए । तर, पीपीएल सकिएसँगै हालसम्म कुनै टोलीले क्रिकेट खेल्न र प्रतियोगिता आयोजना गर्न पिचको माग नगरेको उनको भनाइ छ । आईसीसीले मान्यता नदिँदा संघलाई कलेजस्तरको टि–२० क्रिकेट प्रतियोगिता गर्नसमेत मुस्किल परेको सिग्देलको गुनासो छ ।

तलब दिनै समस्या
संघले क्रिकेट मैदान संरक्षणका लागि वीरबहादुर गुरुङ र प्रदीप रावतलाई राखे पनि पीपीएलसँगै उनीहरुलाई संघले स्रोत जुटाउन नसकेपछि बिदा दिएको उनले बताए । यसअघि, संघले क्रिकेट मैदान प्रयोग गरेबापत संघलाई केही शुल्क दिने गरेको, जसबाट संघले कर्मचारी र क्रिकेट मैदान मर्मत गर्दै आएको उनले बताए । तर, जिल्ला खेलकुद विकास समितिले क्रिकेट मैदानको स्वामित्व लिन खोजेसँगै हाल संरक्षणमा संघको कम ध्यान गएको छ ।

कर्मचारीले अभद्र व्यवहार गरे : गुरुङ
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यमबहादुर गुरुङले पोखरामा पीपीएल भएकोमा खुसी व्यक्त गर्दै संघले राखेका कर्मचारीले अभद्र व्यवहार गरेकोले उनीहरुलाई निकालिएको बताएका छन् । क्रिकेट संघ हाल अवैधानिक संघ भएको उनले बताए । रंगशालाको संरक्षण र विकासका लागि प्रवेश शुल्कको अनिवार्य व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

प्रतियोगिताका कुरा
घरेलु टिम पोखरा पल्टनले पोखरामा पहिलोपटक सम्पन्न नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्यो । पोखरा पल्टनले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै उपाधिसहित २७ लाख पुरस्कार जितेको थियो ।

उपविजेता भएको चितवनले भने १० लाख पुरस्कार पायो । कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालित प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले सहभागी जनाएका थिए । प्रतियोगिताको प्लेयर अफ द सिरिज चितवन राइनोजका भारतीय खेलाडी सन्नी पटेल घोषित भए । बेस्ट बलर चितवनकै करण केसी बने भने बेस्ट ब्याट्सम्यानको उपाधि काठमाडौं रोयल्सका गौरभ तोमार घोषित भए । उनीहरुले उपाधिसहित सुजुकी मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगितामा मस्ट भ्यालुएबल प्लेयर्सको उपाधि पोखरा पल्टनका ललितनारायण राजवंशीले पाए । उनले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी, इमर्जिङ प्लेयरबाट पोखरा पल्टनका रसिद खान घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ प्राप्त गरे । पहिलोपटक पोखरामा आयोजना भएको प्रतियोगितामा दर्शकको उत्साहजनक सहभागिता थियो । प्रतियोगिता सम्पन्न गर्न २ करोडभन्दा बढी खर्च भएको थियो । चार देशका १२ विदेशी खेलाडी सहभागी प्रतियोगितालाई आईसीसीले समेत मान्यता दिएको छ ।