सन्दीपको एकपछि अर्को सफलता, पाकिस्तानी सुपर लिग पनि खेल्ने
वि.सं.२०७५ मंसिर ५ बुधवार १३:११
shares

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग पनि खेल्ने भएका छन् । सन्दीप लाहोर कलन्दर टिममा अनुबन्धित भएका छन् ।
संसारका एकपछि अर्को लिगमा अनुबन्धित सन्दीप इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० प्रिमियर लिग, बिगब्यास लिग र टी–१० क्रिकेट लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिगपछि अब पाकिस्तानी सुपर लिगमा छनोट भएका हुन् ।
उत्कृष्ट लिगको अनुभव लिइसकेका सन्दीपलाई लाहोरले कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । पाकिस्तानी सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीमा पर्ने फखर जमान, एबी डिभिलियर्स, यासिर शाह, शाहिद अफ्रिदी, अघ सलमान, साहिन अफ्रिदी, सोहिल अख्तर, हसन खान, कार्लोस ब्रेथवेट, मोहम्मद हफिजजस्ता खेलाडी छन् ।
गोल्ड क्याटेगोरीमा रहेका सन्दीपलाई लाहोरले पहिलो चरणमै छनोट गरेको हो । टिममा मेन्टरका रुपमा पाकिस्तानी क्रिकेट टिमका पूर्व तीव्र बलर सोयब अख्तर छन् ।

























