नेतृत्व परिवर्तन आवश्यक छ : शशांक कोइराला
वि.सं.२०७५ पुस २२ आइतवार ००:०५
shares

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताएका छन् । कांग्रेस रत्ननगर नगरसमितिले शनिबार रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा उनले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उनले पार्टी गुट उपगुटले ध्वस्त भएको बताए । यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उनको भनाइ छ ।
आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली कांग्रेसलाई कसैले जित्न नसक्ने उनको भनाइ छ । अहिले आम नेतृत्वले कांग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उनले बताए ।
यस्तै अर्का नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण कांग्रेस कमजोर बनेको बताए । पार्टीलाई चलायमान बनाउनका लागि तत्काल सङ्घीयताको आधारमा पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेको आचार्यको भनाइ थियो ।
नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले पार्टी आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताए । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिँड्नुपर्नेमा उनको जोड थियो । (रासस)

























