काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिपक्षी कांग्रेसको भूमिका

15.1K
shares

हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा पदाधिकारी विवादपछि मुख्य मुद्दाका रुपमा नेतृत्वप्रति उठेको प्रश्न थियो– पार्टी प्रतिपक्षीको रुपमा किन प्रभावकारी बन्न सकेन ? बैठकमा पार्टी सभापति देउवाले प्रतिबद्धता जनाएका थिए– त्यसको सम्बोधन अब हुन्छ ।

मोरङको लेटाङमा शनिबार नेपाल राष्ट्रिय मगर संघले आयोजना गरेको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा देउवाको सरकारविरुद्धको गर्जन र आइतबारको संसद बैठकमा कांग्रेस नेताहरुको आक्रामक प्रस्तुति पार्टीको ‘प्रभावकारी प्रतिपक्षी भूमिका’को ‘सम्बोधन’ हुनसक्छ । यसले वर्षौंपछि भएको महासमिति बैठकले कांग्रेस नेताहरुमा ऊर्जा थपिएको आभाष दिएको छ ।

सरकारले एकपछि अर्को गल्ती गर्दै गए पनि पार्टीभित्रको किचलो र गुट, उपगुटको भुङ्ग्रोमा रापिएको कांग्रेस वास्तवमै निरीह प्रतिपक्षीका रुपमा प्रस्तुत भइरहेको थियो । पार्टीका पहिलो दोस्रो र तेस्रो तहका युवा नेतासम्म आफूविरुद्ध खनिएपछि आहत बनेका सभापति देउवाको भूमिका सर्वत्र प्रतिरक्षात्मकमात्र बन्दै गएको थियो । यस्तो अवस्थामा महासमिति बैठकबाट बटुलेको ‘ऊर्जा’लाई सभापति देउवाले सदन र सडकमार्फत ‘शक्ति’मा बदल्ने कोशिश गरेका छन् ।

मगर संघको कार्यक्रममा देउवाले सरकारलाई शान्तिसुरक्षा, लगानी प्रवर्धन, आर्थिक समृद्धि र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भइसकेको आरोप लगाए । मूलतः प्रधानमन्त्रीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका देउवाले ओलीलाई ‘केपी ओली नभएर करप्रसाद ओली’ नामकरण गरे । सरकारले मनपरी कर वृद्धि र असुली गरेको भन्दै देउवाले सरकारले व्यावसायिक वातावरण नै बिगारेको तर्क गरे । वाइडबडीलगायतका अर्बौं भ्रष्टाचारका घटना र कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकणरण सरकारी असफलताका ज्वलन्त उदाहरण भएको देउवाको दाबी थियो । कांग्रेसका अन्य नेता पनि सरकार र मन्त्रीहरुविरुद्ध योजनाबद्ध ढंगले प्रस्तुत हुन थालेका छन् ।

आर्थिक समृद्धिको बाटोमा मुलुकलाई डोर्याउन नसकिरहेको दुईतिहाइको वामपन्थी सरकार एकपछि अर्को गर्दै अस्वाभाविक लाग्ने गल्तीहरु गरिरहेको छ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको सपथ यसको पछिल्लो उदाहरण हो । शक्तिशाली सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा न कालाबजारी र महँगी नियन्त्रणमा आएको छ न त आमनागरिकले शान्तिसुरक्षाको प्रत्याभूत गर्न पाएका छन् । सिन्डिकेट, सुनकाण्ड र निर्मला पन्त प्रकरण हुँदै रेशम चौधरी सपथसम्म आइपुग्दा सरकार तीन बल्ड्याङ खेलिसकेको छ । सरकारका गतिविधिलाई नियन्त्रणमा राख्न नसकेका प्रधानमन्त्री ओली, मन्त्री र कर्मचारीले नटेरेको रोदन गरिरहेका छन् । जुन प्रतिपक्षीका लागि सर्वाधिक बलिया हतियार बन्नेछन् । भलै, आफ्नै उल्झन बाँधिएको कांग्रेस अहिलेसम्म यस्ता विषयमा बलियो ढंगले प्रस्तुत हुन सकिरहेको थिएन ।

तर, आइतबारको संसद बैठकमा कांग्रेसको प्रस्तुतिले ‘प्रतिपक्षी कमजोर छैन’ र ‘सरकारले मनपरी गर्न पाउँदैन’ भन्ने संकेत गरेको छ । संसदीय सर्वोच्चताको खिल्ली उठाउँदै ‘प्रतिवेदन कार्यान्वयनभन्दा प्रभावित पार्ने’ उद्देश्यले वाइडबडीमा सरकारले गठन गरेको ‘उच्चस्तरीय छानबिन आयोग’का कारण पनि कांग्रेस झस्किएको हुनसक्छ । किनकि, आफ्नालाई बचाउन र अन्यलाई सिकार बनाउन यस्ता आयोग उपयोगीसिद्ध हुनसक्छन् ।

संसदमा कांग्रेसको बलियो उपस्थिति र सरकारविरुद्धको आक्रामक प्रस्तुति सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्मका लागि बलियो खुराक बनेका छन् । सरकारविरुद्ध आमसर्वसाधारणको आशंका बढिरहेका बेला ‘संसदमा कांग्रेसको हंगामा’लाई लिएर अधिकांशले सकारात्मक टिप्पणी गरिरहेका छन् । कांग्रेसको भूमिकाले सरकारलाई करेक्सन गराउन सक्ला नसक्ला, त्यो भविष्यले देखाउँछ तर प्रतिपक्षीको प्रभावकारी भूमिका सरकारको लक्ष्यप्राप्तिमा सहयोगीसिद्ध हुनेमा दुईमत रहन्न ।