८३ लाख अवैध रकमसहित हुण्डी कारोबारी पक्राउ
वि.सं.२०७५ पुस २३ सोमवार १२:३८
shares

धनुषा प्रहरीले गैरकानुनी रुपमा आर्थिक (हुन्डी) कारोबार गर्दै आएका पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले ८३ लाख नगद रकमसहित पैसाको अवैध कारोबार गर्दै आएकाहरूलाई पक्राउ गरेको छ । उनीहरूलाई आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–१३, किशोरीनगरबाट अवैध रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका–१९, बेगाशिवपुरका ४३ वर्षीय विजय यादव, भारतको मधुवनी जिल्ला बासोपट्टी घर भई हाल जनकपुर–११ बस्ने ४० वर्षीय सन्तोष महतो, पप्पुकुमार दास, ५० वर्षीय सुरज ठाकुर र ४० वर्षीय नरेश महतो छन् । पक्राउ परेकाबाट ८३ लाख ६२ हजार नगद नेपाली रुपैयाँ, ६ हजार ६ सय भारतीय रुपैयाँ, विभिन्न बैंकका चेकबुक र अन्य कागजात बरामद गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

























