राज्यले नागरिक चिनेकै छैन- प्रदेशमन्त्री भण्डारी
वि.सं.२०७५ पुस २४ मंगलवार ००:५५
shares

राज्यले नागरिकहरु अझै चिन्न नसकेको कर्णाली प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् ।
सोमबार नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्णालीको राजधानी सुर्खेतमा आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा भण्डारीले राष्ट्रिय परिचय पत्रलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्दै यसले नागरिक अभिलेख भण्डारण सुरक्षित हुने बताए ।
‘वास्तबमा राज्यले अझै पनि नागरिक चिनेको छैन,’ उनले भने, ‘नागरिकलाई राष्ट्रिय परिचयपत्र दिएपछि मात्रै राज्यले नागरिक चिन्नेछ ।’
कार्यक्रममा सहभागी अधिकांशले राष्ट्रिय परिचयपत्र प्राप्त गरेपछि नागरिकता हराउने चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी गोबिन्द सुवेदिले राष्ट्रिय परिचय पत्र प्राप्त गरेपछि नागरिकता रहन्छ की रहँदैन भन्ने प्रश्न गरे । ‘नागरिकतालाई पन्छाईयो भने अंगीकृत नागरिकता प्राप्त गर्नेहरुको हकमा के व्यवस्था हुन्छ ?’ उनको प्रश्न थियो ।
त्यस्तै कार्यक्रममा सहभागी कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले पनि आयोजकलाई प्रश्न सोधिहाले । राष्ट्रिय परिचयच पत्र प्राप्त गरेपछि आम परिचयपत्र के हुन्छ ?
कार्यक्रममा सहभागी अधिकांशले नेपाली नागरिकताको चिन्ता लिएर आयोजकलाई प्रश्न सोधेपछि महानिर्देशक दिपक काफ्लेले जवाफ दिँदै भने यसले नागरिकतालाई बिस्थापित नगर्ने तर नागरिकता भन्दा ठूलो काम गर्ने बताए ।
‘नागरिकलाई राष्ट्रिय परिचयपत्र दिएपछि दोहोरो प्रणालीको अन्त्य हुन्छ । नागरिकताको काम पनि यो परिचयपत्रले गर्छ,’ उनले भने, ‘तर, संविधानमा व्यवस्था भए बमोजिम नागरिकता हटाइहाल्ने चाँही होईन ।’
एकपटक परिचयपत्र बनाइएसकेपछि नाम, थर, उमेर तथा जे फेरिए पनि परिचयपत्रको नम्बर भने नफेरिने महानिर्देशक काफ्लेले बताए ।

























