यौन र उद्यमबीचको समानता
वि.सं.२०७५ पुस २५ बुधवार १९:५८
shares

एकजना भारतीय लेखकले नेपालमा आयोजित एक कार्यक्रममा सोधे, ‘यौन र उद्यमबीचका समानता कसैले भन्न सक्नुहुन्छ ?’ उनको यो प्रश्न सुनेर अधिकांश अवाक् भए । कतिपयले जवाफ दिने प्रयास पनि गरे ।
‘जति गरे पनि नअघाइने’ सेक्स र ‘जति पैसा कमाएर पनि छाड्न नसकिने’ उद्यमजस्ता उत्तर आए । कतिपयले सेक्स र उद्यम ‘जीवनका लागि अपरिहार्य’समेत भने । ती लेखकले उत्तर चित्त बुझाएनन् । आएका उत्तरप्रति उनले मुख खुम्च्याएको देखेर कण्ठीसम्म उत्तर आइसकेहरु पनि चुप बसे । आफूले अपेक्षा गरेजस्तो उत्तर कसैले दिन्छ कि भनेर उनले मासमा आँखा डुलाइरहे ।
‘उनको यो प्रश्नमा केही नयाँपन अवश्य छ,’ धेरै सहभागी जिज्ञासु देखिन्थे । कार्यक्रममा सरकारी अधिकारीदेखि बैंक तथा वित्तीय संस्था प्रमुख कार्यकारी अधिकृत, विदेशी अर्थविज्ञ, पत्रकार र बुद्धिजीवीसम्म सहभागी थिए । तर, कसैले ती लेखकले अपेक्षा गरेजस्तो उत्तर दिन सकेनन् । अन्ततः उनले आफैं उत्तर भन्ने गरी हाउभाउ सोझ्याए ।
‘सेक्सका बारेमा धेरै मान्छेले थरी–थरीका कुरा गर्छन् । यौनजन्य क्रियाकलापमा सहभागी भएको कल्पना गर्छन्, गर्ने कुरा गर्छन् । यौनका लागि उमेर पुगेका किशोरकिशोरीदेखि यौनका लागि असक्षम भइसकेको उमेरसम्मका मान्छे सेक्सबारे बोल्छन्, सोच्छन् । तर, तीमध्ये एकदमै कम मान्छे सेक्स गर्छन्,’ उनको उत्तर थियो, ‘म विवाहअघिको कुरा गरिरहेको छु । विवाहपछि त स्वाभाविक हो ।’
अब उनले यसलाई उद्यमसँग तुलना गर्न थाले, ‘आन्टरप्रेनरसिप अर्थात् उद्यमी बन्न पनि मान्छे त्यसै गर्छन् । म यो गर्छु, त्यो गर्छु । सोच ठूल्ठूला बनाउँछन् । कसैले कुखुरा पालेर धनी हुने सोच्छन्, कसैले गाई पालेर त कसैले च्याउ फलाएर । उद्यमी बन्ने सोच र योजना धेरैसँग हुन्छ, अनौपचारिक गफगाफमा तपाईं आफ्नो साथीसँग सोध्न सक्नुहुन्छ । उनीहरु कुरा पनि गर्छन्, यो गर्न पाए हुन्थ्यो, यसो गर्ने प्लान छ, पैसा यसमा छ । तर, यसरी कुरा गर्नेमध्ये एकदमै कम मान्छे उद्यमी बन्छन् । जसरी सेक्सको कुरा गर्नेमध्ये निकै कम मान्छे यसमा सामेल हुन्छन्, त्यसरी नै उद्यमशीलतामा योजना बनाएकामध्ये अत्यन्तै न्यून मान्छे उद्यमी बन्छन् ।’
उनको तर्क सुनेर सहभागीले ताली बजाए । उनले थपे, ‘सोच ठूलो कुरा हो तर सबै कुरा होइन । भन्नु र गर्नुमा ठूलो भिन्नता छ । सोच्नु र भन्नु उस्तै–उस्तै हो । तर, गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । उद्यमी बन्न सोचेर वा योजना बनाएरमात्र पुग्दैन । सोच र योजनालाई कार्यान्वयन गर्नुपर्छ । हामीमध्ये धेरैचाहिँ सोचमै रमाउँछौैं । आज, भोलि गर्दै हाम्रा योजना छिप्पिँदै जान्छन् तर कार्यान्वयनको टुसा भने पलाउन पनि पाउँदैन । हामी बूढो हुँदै जान्छौं, हाम्रा योजना मर्दै जान्छन् । यो नियती धेरै मान्छेमा लागू हुने गर्छ ।
ती लेखकको तर्कमा असहमति जनाउने पनि थिए । तर, अधिकांशले चाहिँ ताली बजाएर समर्थन गरे । मलाई चाहिँ उनको तर्क मन पर्यो, सोच ठूलो कुरा हो तर सबै कुरा होइन, गर्नुचाहिँ महत्वपूर्ण र ठूलो कुरा हो । त्यसपछि उपलब्धि, नाफा, घाटाका कुरा आउँछन् । फेरि हिँड्ने मान्छे नै हो लड्ने पनि । उद्यमी बन्न कुरामात्रै गरेर हुँदैन, व्यवहारतः आफूलाई तयार गर्नुपर्छ र हिँडाउनुपर्छ ।
सेक्ससँग तुलना गरे पनि ती लेखकले नेपालमा किन उद्यमीको कमी भयो भन्ने कुराको तर्क प्रस्तुत गर्न खोजेका थिए । नेपाल नबन्नुमा यो मुलुकमा उद्यमीको कमी छ भन्ने एउटा भनाइ जबर्जस्त रूपमा उनले प्रस्तुत गरे ।
उद्यमबिना कुनै पनि देश बनेको छैन । नेपाली शब्दसागरमा उद्यम भनेको उद्योग, इलम, जीवन निर्वाह गर्न उपार्जनलाई गरिने काम वा श्रम, मेहनत, व्यापार, व्यवसाय, प्रयत्न, प्रयास भनेर उल्लेख छ । र, उद्यमी भनेको उद्योगी, प्रयत्नवान, परिश्रमी, कर्मशील भनिएको छ । यो अर्थको सारलाई यसरी भन्न सकिएला, उद्योग भनेको आयआर्जनका लागि गरिने काम, पेसा, व्यवसाय र उद्यमी भनेको त्यो काम गर्ने मानिस ।
देशमा उद्यमको विकास हुँदा त्यसले रोजगारी र्सिजना गर्छ, बेरोजगारी घटाउँछ, व्यक्तिको आय बढाउँछ, राज्यले उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढ्छ, व्यवस्थापकीय क्षमताको विकास हुन्छ र जोखिम लिने आँट पलाउँछ, आयात घट्छ र निर्यात बढाउने सम्भावना बढ्छ, राज्यको व्यपार बढ्छ, व्यक्ति–व्यक्तिमा सीप र दक्षताको विकास हुन्छ । अनुसन्धान र खोजको विकास भएर नयाँ–नयाँ प्रविधि पहिल्याउन सकिन्छ । यी र यस्ता अनेक फाइदा हुन्छन्, देशमा उद्यमको विकास भएमा ।
नेपाल किन गरिब भयो भन्ने प्रश्नतिर विचार गर्ने हो भने नेपालमा उद्योगको जग नै धेरै सानो छ । मानिसमा उद्यमी हुने सोच र सपना छ । तर, हामफाल्ने आँट छैन । लगानी गरेर पर्खने धैर्य छैन । उद्यमी हुँदाको फाइदाका बारेमा प्रस्टता छैन । त्यसैले मानिस लगानी गर्ने पैसा भए पनि उद्योगमा लगानी गर्न हच्किन्छन् र सोचमै सीमित हुन्छ ।
उद्यम भनेको अर्को अर्थमा इलम पनि हो । मेरा एकजना सहकर्मी मित्र दिवाकर भट्टराई मध्यम वर्गीय परिवारका व्यक्ति हुन् । उनलाई खान–लाउन र गर्जो टार्न कुनै दुःख छैन । तर, उनले मसँगको कुराकानीमा धेरैपटक ‘उद्यम वा इलम नभई नहुने रहेछ, केही त गर्नेपर्ने भो’ भन्थे । पाँच वर्षपहिला पनि उनी यही भन्थे, पाँच वर्षपछि पनि यही कुरा दोहोर्याइरहेका छन् । यहाँनेर ती भारतीय लेखकको तर्क ठ्याक्कै मिल्यो ।
मध्यम वर्गीय मानिसको बाहुल्य भएको हाम्रो समाजमा उद्यम वा इलम गर्न संकोच लाग्ने एउटा कारण छ । त्यो के भने सानोतिनोमा आँखा लाग्दैन, ठूलो गर्न आँट र पुँजीको अभाव हुने गर्छ । उद्यम भनेको एकैचोटि ठूलो हुन त विरासतबाटै प्राप्त हुनुपर्छ ।
उद्यम भनेको ठूल्ठूला उद्योग र कलकारखानामात्रै होइन, जीविकोपार्जनका लागि गरिने व्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन् । उद्यमको सुरुवात जीविकोपार्जन गर्नकै लागि हुन्छ । तर, जब उद्यमले आकार ग्रहण गर्दै वृद्धि हुँदै जान्छ तब त्यो जीविकोपार्जनमा सीमित हुँदैन । त्यसले अरु–अरु उद्यमका सम्भावनाको खोजी गर्दै जान्छ । कारोबार बढाउँदै जान्छ । धेरैलाई रोजगारी दिने क्षमता राख्छ । मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ । त्यसैले साँचो अर्थमा उद्यमको विकासबिना देशको विकास हुँदैन । उद्यमी हुनका लागि सोचले मात्रै पुग्दै पुग्दैन ।

























