कहिले होला नेपाली खेलकुदको वैज्ञानिकीकरण ?
वि.सं.२०७५ पुस २६ बिहीवार १५:४१
shares

खेलाडीले आफ्नो देशलाई विश्वमा परिचित गराउँछन् । मुलुक र झण्डाको सान बढाउँछन् । विश्वको ध्यान खिच्छन् । त्यसैले विदेशमा खेलाडीलाई विशेष सम्मान दिने गरिन्छ । उनीहरुको जीवनयापन सहज र सानदार बनाउन राज्यले लगानी गर्छ, नीतिगत व्यवस्था मिलाउँछ । तर, नेपालमा खेलाडीलाई मुुलुकले बोझ ठान्छ । खेलुञ्जेल त खेलाडीको स्वास्थ्य र अन्य अवस्थाबारे बेवास्ता गरिन्छ भने अरुबेलाको त के कुरा गर्ने ?
राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरी नेपाली झण्डा फहराउने, मुलुकको इज्जत बढाउन खेलाडीको ‘डाइट’मा समेत ध्यान दिँदैनन् खेलकुदसम्बद्ध निकाय । उनीहरुलाई सायदै थाहा हुन्छ, खेलाडी कुन अवस्थाबाट गुज्रदै प्रतियोगितामा भाग लिइरहेको छ ।
बिहान १० बजेतिर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को मुलगेट बाहिर पुग्दा खेलाडीको भीड देखिन्छ । आसपासका खाजा घरमा चना, आलु र अण्डामा रमाइरहेका हुन्छन् । अधिकांश खेलाडीको बिहानी डाइट हो यो । तिनै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपाली खेलकुदलाई गुण लगाउँछन् ।
सामान्य मानिसभन्दा खेलाडीको डाइट फरक हुनुपर्छ । किनभने, उनीहरुलाई अतिरिक्त शक्ति आवश्यक हुन्छ । उनीहरुको खान्कीले राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शन र नतिजनामा फरक पार्छ ।
अन्य मुलुकको तुलनामा नेपाली खेलाडीको अवस्था फरक छ, उसले भेटेजति सबै खानुपर्छ । जसले गर्दा मोटोपन र शारीरिक तन्दुरुस्तीमा समस्या देखिँदै आएको छ । भारोत्तोलन र एथलेटिक्सका खेलाडीको खानासमेत एउटै हुँदा यी खेलका जानकार आश्चर्यचकित हुने गरेका छन् । न्युट्रिसियन केपी लम्सालका अनुसार खेलको प्रकृति, उमेर, तौल, उचाइ, प्रशिक्षणको स्तरलगायतले खेलाडीलाई फरक–फरक शक्ति आवश्यक हुन्छ ।
प्रशिक्षण र पोषणको तालमेलमै खेलाडीको विकास हुने उनको तर्क छ । राष्ट्रिय च्याम्पियन खेलाडीले समेत आफ्नै खर्चमा डाइट खानुपर्छ । पोषणको स्थिति कमजोर हुनुको मुल कारण नै त्यही हो । राखेपले आयोजना गर्ने राष्ट्रिय, दक्षिण एसियाली र एसियाली खेलकुद तथा ओलम्पिकलगायत प्रतियोगितामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण चल्छ । त्यसक्रममा उनीहरुलाई केही ‘पकेट मनी’ डाइटका लागि दिइन्छ । त्यसबाहेक क्रिकेट र फुटबलका राष्ट्रिय बन्द प्रशिक्षणका बेला खेलाडीको खाने व्यवस्था मिलाउँछन् । अन्य खेलका खेलाडीले आफ्नै खर्चमा डाइट खाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ ।
आधुनिक खेलकुदमा वैज्ञानिक प्रविधि भित्रिएको लामो समय बित्यो । त्यसकै आडमा चीन, अमेरिकालगायत मुलुक खेलकुदका पनि शक्ति राष्ट्र बनेका छन् । ‘खेलकुदमा वैज्ञानिकीकरण भनेको कुनै पनि खेलाडीलाई उपाधि जित्नेस्तरसम्म कसरी पुर्याउने भन्ने हो,’ स्पोर्टस साइन्सका विद्यार्थी दिवाकरलाल अमात्य भन्टछन् । उनका अनुसार खेलाडीको प्रशिक्षण र पोषणले नै नतिजामा फरक पार्ने हो । ‘प्रशिक्षणलाई विज्ञानसम्मत बनाएर अघि बढ्दा खेलाडीलाई प्रतिस्पध्र्री बनाउन सकिन्छ । कुनै कुरा लाद्न खोजियो भने त्यसको अर्थ हुँदैन,’ उनी भन्छन्, ‘यथार्थ फरक छ, नेपाली खेलाडी वैज्ञानिक प्रशिक्षण त टाढाको कुरा, १–२ साताको प्रशिक्षणकै भरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्छ ।
त्यसो त, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) स्थापना भएको दशक भयो, जसको उद्देश्य घरेलु खेलकुदको वैज्ञानिक विकास हो । तथापि, नेपाली खेलकुदमा वैज्ञानिकीकरण अझै भएको छैन । प्रशिक्षकलाई समय–समयमा पुनर्ताजगी र बालबालिकाका लागि प्रशिक्षण कोर्स सञ्चालनमै सान खुम्चिएको छ । विदेशतिर खेलकुद विज्ञान प्रतिष्ठानले विश्वविद्यालयको रुप लिएका छन् । नेपाल भने अझै प्रश्षिकलाई भारत पठाइरहेको छ । नेपालको नीति नै वैज्ञानिक बन्न नसकेको सानका प्रमुख प्रकाश प्रधानको भनाइ छ ।
अन्य मुलुकमा विदेशमा सहभागी भएर फर्किएपछि टोलीको नतिजनामाथि समीक्षा हुन्छ । तर, नेपालमा यस्तो अभ्यास सुरु भएको छैन । प्रतियोगिता खेलेर आएपछि खेलाडी एकातिर, तालुकदार निकाय एकातिर । फेरि अर्को प्रतियोगिता हुनुभन्दा केही साताअगाडि प्रशिक्षण । अरु बेला खेलालीले के खायो भन्ने त टाढाको सवाल भयो, प्रशिक्षणका बेला पनि चना र अण्डाकै भरमा रहेका खेलडीबारे खेलसम्बद्ध निकाय मुकदर्शक बनेका छन् । नेपाली खेलको विकास अहिलको अवस्थामा आइपुग्नुमा खेलाडीको धैर्यता, साहस र लगनशीलता नै प्रमुख रहेको खेलका जानकार बताउँछन् । ‘यसमा खेलसम्बद्ध निकायले अलि वैज्ञानिक खालको नीति निर्माण गरी कार्यान्वयन गर्न सकेको भए हामी खेलको शक्ति राष्ट्र बनिसकेका हुन्थ्यौं,’ उनी भन्छन्, ‘चना र अण्डाको भरले खेलाडीले कतिन्जेल खेल्ने, कसरी सम्भव छ खेलको विकास ?’

























