बैंक खाताबाट झिकेको रकम फिर्ता गर्न सुमार्गीलाई दबाब
वि.सं.२०७५ पुस २८ शनिवार १८:१०
shares

व्यवसायी अजयराज सुमार्गीलाई बैंक खाताबाट झिकेको रकम फिर्ता गर्न दबाब परेको छ । सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा भएको रकम शंकास्पद देखिएको भन्दै बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएपछि उनी दबाबमा परेका हुन् । राष्ट्र बैंकले समेत रकम फिर्ता गराउन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । ‘सर्वोच्चबाट पत्र आएलगत्तै त्यसमा उल्लेखित निर्देशनअनुसार आवश्यक प्रक्रिया थाल्छौं,’ डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने ।
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले रकम झिक्न दिन अल्पकालीन अन्तरिम आदेश दिएपछि सुमार्गीले मुक्तश्री सिमेन्टको नाममा इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा भएको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) निकालेका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले जोशीबाट भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै रकम फिर्ता गर्न राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएपछि सुमार्गीले हातमा परिसकेको रकम फिर्ता गर्नुपर्ने भएको हो ।
आदेशको पत्र पाएपछि राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीले झिकेको पैसा फिर्ता लिन र फिर्ता नदिए सुमार्गीको अन्य बैंक खाता रोक्का गर्न निर्देशन दिनसक्ने छ ।
सुमार्गीले पछिल्लोपटक सो बैंकको खाताबाट करिब ८३ करोड २५ लाख रुपैयाँ र पहिला २ अर्ब २५ करोड रुपैयाँ झिकेका छन् । पहिला पनि सुमार्गीले नबिल र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैयाँ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए । उनले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) सो खातामा जम्मा पारेका थिए।
सुमार्गीले २०७० सालमा करिब ११ अर्ब रुपैयाँ नेपाल ल्याएका थिए । उनले ‘ट्याक्स हेभन’ मानिएका ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम ल्याएका हुन् । उनले सो रकम सरकारको अनुमतिबिनै सीधै नेपालका बैंकमा जम्मा गराएका थिए ।

























