दाताले बढाए ऋण
वि.सं.२०७५ माघ ३ बिहीवार २२:०७
shares

नेपालका प्रायः दाताहरूले नेपाललाइ दिने सहयोगमा ऋणको अंश बढाउन थालेका छन् । आर्थिक वर्ष २०६७/६८ र ०६८/६९मा कुल वैदेशिक सहयोगमा ऋणको हिस्सा केबल ९ प्रतिशतमात्रै रहेकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा यो बढेर २९ प्रतिशत पुगेको छ ।
आर्थिक वर्ष ०७१/७२ देखि दाताहरुले नेपालका ऋण भुक्तानी क्षमता बढेको भन्दै नेपाललाइ दिने अनुदानमा धमाधम कटौती गर्न थालेका हुन्। अर्थमन्त्रालयका अनुसार आव ०७१/७२ मा नेपालले ६८ अर्ब ८० करोड अमेरिकी डलरबराबरीको अनुदान सहयोग पाएकोमा यो आव ०७२/७३ मा ५८ अर्ब १० करोड अमेरिकी डलरमा झर्यो भने आव ०७२/७३मा अझ कमी आइ ५३ करोड ३० लाख अमेरिकी डलरमात्र नेपालले अनुदान सहयोग पायो ।
भूकम्पपछिका पुनर्निमाणका लागि प्राप्त सहयोगका कारण आव ०७२/७३मा नेपालले पाउने अनुदान सहयोग बढेर ५८ करोड २० लाख डलर पुगे पनि गत आव ०७४/७५ मा पुनः घटेर ५७ करोड डलरमा झरेको छ ।
गत आर्थिक वर्षमा नेपालले हालसम्मकै सर्वाधिक ऋण सहयोग पाएको छ । अर्थमन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार गत वर्ष नेपालले ८१ करोड ९० लाख ऋण पाएको छ । यो नेपालले पाएको कुल वैदेशिक सहयोगको ५० दशमलव ५ प्रतिशत हो ।
वैदेशिक ऋणका अनुपात बढ्नु देशका लागि हितकर होइन । सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१/६५ प्रतिशतले राष्ट्रिय ऋण बढेर कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारले लिएको ऋणलाई प्रति नेपाली भाग लाउने हो भने एक जनाको टाउकोमा हाल ३० हजार पाँच सय ४७ रूपैयाँ ऋण पुगेको छ।
दाताहरूले यसरी क्रमैसँग अनुदान घटाएर ऋणका मात्रा बढाउँदै जाँदा देशले तिर्नुपर्ने ऋणका साँवाब्याज भुक्तानीका भार व्यापक रूपमा बढ्दै जान्छ ।


























