अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई
वि.सं.२०७५ माघ ४ शुक्रवार २२:४३
shares

प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७५ को उपाधि नेपाल आर्मीले उचालेको छ । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न फाइनल खेलमा भारतको टिमलाई पराजित गर्दै नेपाल आर्मीले उपाधि चुमेको हो ।
समान ६/६ अंक हासिल गरेर फाइनलमा उत्रिएको आर्मीले भारतीय टिमलाई ४०/१३ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा अन्तर्राष्ट्रिय नियम अनुसार बंगलादेश र श्रीलंका तेश्रो भएका छन् ।
खेल समापनको अवसरमा विजेता र उपविजेता टोलीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेशका वन तथा वातावरणमन्त्री जगदिश कुसियैतले विजेता टोलीलाई शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरे ।
गत पौष २७ गतेबाट मोरङ जिल्ला कबड्डी संघको आयोजनामा पहिलो पटक प्रदेश एकमा प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाल आयोजक टिम सहित नेपाल आर्मी, भारत, बंगलादेश र श्रीलंकाको टोली सहभागि भएका थिए ।

























