हवल्दारलाई गोली हान्ने दीपेन्द्र चौधरी प्रहरी इन्काउन्टरमा मारिए
वि.सं.२०७५ माघ ९ बुधवार १५:२४
shares

एक साताअघि सप्तरीमा प्रहरी हवल्दारलाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोप लागेका एक जना व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बुधबार बिहान भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीको रुपनी नजिकै भएको जम्काभेटमा प्रहरी टोलीमाथि जयसवालले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी कारबाही गर्दा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए ।
एक साताअघि सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार भएको थियो ।
उनीमाथि असईको हत्या गरेको आरोपसमेत लागेको थियो । पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या गरेको, एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेको र इलाका प्रहरी कार्यालय कडरबोना नजिकै केही वर्षअघि चौधरीले नै बम बिष्फोट गराएको प्रहरीको दावी छ ।
मृतक चौधरीको साथबाट एक राउण्ड कटुवा पेस्तोल समेत बरामद भएको छ । तराईको सशस्त्र समूह गोइतका पूर्वकार्यकर्ता चौधरी अहिले आफ्नै समूह बनाएर चन्दा असुली, हप्ता असुली गरी भूमिगत रुपमा आपराधिक गतिविधि सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

























