सचिव कुट्ने मन्त्री काठमाडौंमा, छानबिन प्रभावित
वि.सं.२०७५ माघ ११ शुक्रवार १६:२२
shares

प्रदेश दुईमा दुई हप्ताअघि मन्त्रीले सचिवमाथि गरेको हातपातको छानबिन गर्न बनेको समितिले निर्धारित समयभित्र प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको छ ।
समितिलाई एक हप्ताको समयसीमा दिइए पनि १२ दिन बितिसक्दा समेत प्रतिवेदन सार्वजानिक हुन नसकेको हो । हातपात गर्ने मन्त्री विजय यादवले समितिसँग छलफल गर्न नमानेपनि प्रतिवेदन सार्वजनिकमा ढिलाई एक सदस्यले बताए ।
गत पौष २९ गते सचिव विद्यानाथ झामाथि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कार्यालयमै बोलाएर थप्पड लगाएपछि प्रदेशभित्र विवाद चुलिएको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
समितिका संयोजक मन्त्री ज्ञानेन्द्र यादवले भने छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेकाले शनिबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।
उनका अनुसार बिहिबार नै मन्त्री विजय यादवको कुरा सुनेर प्रतिवेदनको अन्तिम रुप तयार पारिने छ । छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्न अबेर गरेपछि मन्त्रीलाई बचाउने प्रयासमा लागेको आरोप लाग्ने गरेको छ ।

























