नेपालको दोस्रो वान डे क्रिकेट आज, सिरिज कब्जा गर्ने लक्ष्य
वि.सं.२०७५ माघ ११ शुक्रवार १६:०६
shares

एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार घरेलु टोलीसँग एकदिवसीय क्रिकेट खेल्दैछ । युएईस्थित आईसिसीको क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बिहान ११ः१५ मा नेपाल र युएईबीचको पहिलो खेल सुरु हुने छ । गत मार्चमा विश्व क्रिकेट परिषद् (आइसिसि) एकदिवसीयको मान्यता पाएको नेपाल युएईविरुद्ध हुने दोस्रो एकदिवसीय शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रने छ । नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृंखला खेलेको थियो । दुई खेलको शृंखला एक–एक जितको बराबरीमा सकिएको थियो । त्यसैले सिरिज कब्जा गर्ने त्यतिबेलाको सपना पूरा गर्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने छ ।
प्रारम्भिक टोलीमा परेका नयाँ अनुहार र अनुभवी खेलाडीको संयोजनका कारण यसपटक नेपाली टोलीबाट धेरैले जितको आशा गरेका छन् । ‘हामीले तयारीका लागि पाएको समयको भरपुर सदुपयोग गरेका छौं,’ नेपाली टोलीका कप्तान पारस खड्काले भने,’ युएईको टोलीसँग यसपटक हामी निराश हुनुपर्दैन भन्ने आत्मविश्वास छ ।’
खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । यो शृंखलामा अलराउन्डर शरद भेषावकर भने देखिने छैनन् । अन्तिम नामावली प्रकाशन गर्ने क्रममा अस्वस्थताका कारण देखाउँदै शरदले टोलीबाट नाम फिर्ता लिएका थिए । यसपटक सन्दीप झोरा, पवन सर्राफ, भीम सार्की र अबिनास बोहोराले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।
राष्ट्रिय टोलीमा डेब्यु गरेका खेलाडीले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका छन् । तर, पहिलो पटक राष्ट्रिय जर्सी लगाएर नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका उनीहरुलाई चुनौती पनि उत्तिकै छ । किनकि, सन् २०१५ यता युएईमा भएका कुनै पनि प्रतियोगितामा नेपालले जित निकाल्न सकेको छैन । त्यसैले यसपटक पनि युएईविरुद्ध जित निकाल्न नेपाललाई निकै कठिन हुनेछ । पछिल्लो पटक नेपाललाई एसिया कप छनोटमा युएईले नै निराश बनाएको थियो । मलेसियामा सम्पन्न छनोटमा नेपाल ७८ रनले हार्न पुगेको थियो । यस्तै नेपाल विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधि भिडन्तमा युएईसँग ७ रनले पराजित भएको थियो । त्यसअघि समूह चरणकै खेलमा भने नेपालले युएईलाई ४ विकेटले हराएको थियो ।
सन् २०१५ देखि ०१७ सम्म सञ्चालन भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईको मैदानमा नेपालले चार वटा प्रतिस्पर्धामा भाग लिएको छ । पपुवा न्युगिनी र युएईसँग भएका दुई÷दुई खेलमा नेपाल निराश बनेको थियो । त्यसयता युएई मैदानमा भएको कुनै पनि खेलमा नेपाल जित हात पार्न असफल छ । तर, सन् २०१८ मा युएईविरुद्ध भएका चार प्रतिस्पर्धामध्ये नेपाल दुई खेलमा हारे पनि दुई खेलमा जित निकाल्न सफल भएको छ ।
युएईमा हुन लागेको यो सिरिज नेपालका लागि निकै महत्वपूर्ण हुने छ । युएईसँगको सिरिजपछि नेपाल आईसीसीको विश्व वरियतामा समावेश हुनेछ । विश्व वरियतामा पुग्न कम्तिमा ३ देखि ४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनुपर्छ । नेपालले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।
नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–ट्वान्टी सिरिज खेल्नेछ । उक्त सिरिजका लागि चार नयाँ खेलाडीले डेब्यु गरेको जानकारीसहित शनिबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । नेपालले घरेलु टोलीसँग शुक्रबारपछि माघ १२ र १४ गते वान डे र माघ १७, १८ र २० गते ट्वान्टी २० क्रिकेट खेल्नेछ । एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृंखला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृखंला हुनेछ ।


























