ग्लोबल आइएमईको एनएफआरएस : एक अर्ब १२ करोड रुपैयाँ नाफा
वि.सं.२०७५ माघ ११ शुक्रवार १८:०९
shares

ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म एक अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गरेको यो नाफा गत बर्षको यसै अवधिभन्दा २५.४६ प्रतिशतले बढी हो । गत बर्ष ग्लोबल आइएमईले ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।
शुक्रबार प्रकाशित नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोटअनुसार ग्लोबल आइएमई बैंकले खुद ब्याद आम्दानी पनि बढाएको छ । निक्षेप संकलनभन्दा कर्जा विस्तारमा जोड दिएको ग्लोबलले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले वृद्धि गरेको हो । १५.४४ प्रतिशतले व्याज आम्दानी बढाएको बैंकले खर्च भने ९.०८ प्रतिशतले मात्रै बढाएको छ । खुद व्याज आम्दानी २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेको बैंकको पूँजी कोष अनुपात खुम्चिएर ११.३० प्रतिशतमा झरेको छ । वाणिज्य बैंकको पूँजी कोष अनुपात ११ प्रतिशतभन्दा तल आएमा राष्ट्र बैंकले कारबाही गर्छ ।
चालू आर्थिक वर्षको ६ महिना अवधिमा बैंकले १८.८५ प्रतिशतले कर्जा लगानी बढाउँदा निक्षेप संकलन १२.९३ प्रतिशतले मात्र बढाएको छ । निक्षेप संकलन एक खर्ब २१ करोड ६३ लाखबाट एक खर्ब १३ अर्ब १७ करोड ५९ लाख रुपैयाँ पुर्याउँदा कर्जा विस्तार ८६ अर्ब १६ करोड ३५ लाखबाट एक खर्ब २ अर्ब ४० करोड ८४लाख रुपैयाँ पुगेको छ ।
आक्रामक ढंगको कर्जा विस्तारले पूँजीकोषमा दबाबको सामना गरेको बैंकले निक्षेप बढाउन नसके पनि खराब कर्जामा भने राम्रो सुधार गरेको छ । बैंकले पुस मसान्तसम्ममा ०.८६ प्रतिशत विन्दुले घटाएर खराब कर्जा ०.७५ प्रतिशतमा झारेको छ । बैंकले आधार व्याजदर ०.२२ प्रतिशत विन्दुले झरेर १०.०९ प्रतिशत कामय गरेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ छ ।
बैंकले जगेडा कोष पनि बढाएको छ । एफपिओ र बोनस सेयरबाट ३.०१ प्रतिशतले पूँजी बढाउँदा जगेडा कोष ६८.८८ प्रतिशतले बढेको हो । बैंकको जगेडा कोषमा तीन अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको रिपोर्टमा उल्लेख छ । समीक्षा अवधिमा बैंकले जगेडा कोषमा २८.७५ प्रतिशतले सुधार गरेको छ । गत वर्ष दोस्रो त्रैमासमा रहेको बैंकको ८ अर्ब ८८ करोड ८३ लाखको चुक्ता पूँजीमा १६ प्रतिशत बोनस पूँजीकरण गरेर हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख पुगेको छ ।
पूँजीकोष अनुपात १.४६ प्रतिशत विन्दुले घटेर १३.५८ प्रतिशतमा झरेको छ । खराव कर्जा ०.३२ प्रतिशतले सुधार हुँदा अझै १.६२ प्रतिशत बाँकी छ । आधार व्याज दर ०.२३ प्रतिशत विन्दुले घटेर १०.७९ मा झारेको छ। प्रति शेयर आम्दानी २.७६ रुपैयाँ बढेर १८.४२ रुपैयाँ छ ।
बैंकको खुद नाफाभन्दा लाभांश क्षमता भने घटेको छ । एक अर्ब २२ करोड ९३ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्थाअनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट १० करोड २३ लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा लाभांश क्षमता घटेको हो । बैंकले एक अर्ब १२ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको यस्तो नाफा ९१ करोड ५९ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा बैंकको यो नाफा २३ प्रतिशतले बढेको हो ।

























