पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग पराजित
वि.सं.२०७५ माघ ११ शुक्रवार २३:१५
shares

पहिलो एक दिवसीय क्रिकेटमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।
युएईस्थित आईसिसीको क्रिकेट एकेडमीमा भएको खेलमा नेपाल युएइसँगको पहिलो खेलमा तीन विकेटले पराजित भएको हो ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा सीमित बन्यो । नेपालबाट पाएको ११४ रनको लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेट गुमाउँदा पूरा गर्यो ।
राम्रो ब्याटिङ गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे पनि जितका लागि पर्याप्त भएन । यस्तै आरिफ शेखले २५, कप्तान पारस खड्काले २० रन बनाउँदा सन्दीप लामिछाने १५ रनमा बाहिरिए ।
यसैगरी विनोद भण्डारीले ५, पवन सर्राफले ४, करण केसी ३ रन जोड्दै आउट भए । ललित नारायण राजवंशी २ रनमा अबिजेत रहे । ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी रनबिहीन बने ।
नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद नाभिद र अमीर हायतले ३/३ विकेट लिए । यस्तै इमरान हेदरले २ विकेट लिए ।
यो हारसँगै युएईविरुद्ध ३ खेलको सिरिजमा नेपाल १-० ले पछि परेको छ । नेपालले दोस्रो एकदिवसीय खेल युएईसँगै आउँदो शनिबार खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेलेको हो ।
यसअघि नेपालले पहिलो एकदिवसीय नेदरल्याण्डसँग खेलेको थियो । युएईसँगको सिरिजपछि नेपाल आईसीसीको विश्व वरियतामा समावेश हुनेछ । विश्व वरियतामा पुग्न कम्तिमा ३ देखि ४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनुपर्छ । नेपालले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो ।

























