काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैनः सभापति थापा

1.05K
shares

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै आर्थिक लेनदेन तथा अनुचित काम नभएको स्पष्ट पारेका छन् ।

सभापति थापाले आज सामाजिक सञ्जालमा श्रव्य सामग्री सम्प्रेषण गर्दै इनम सापकोटासँग जोडिएको भन्दै सार्वजनिक भएको अडियोको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन् । पार्टीको आधिकारिकतासम्बन्धी विषयमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उक्त प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिए । सभापति थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको पनि बताए ।

प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको श्रव्य सामग्री कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्ने आफूलाई जानकारी नभएको सभापति थापाले बताए । उक्त अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूले थप स्पष्टीकरण दिइरहन आवश्यक नभए पनि सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पारेको उनको भनाइ छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित भएको विद्रोहका रूपमा व्याख्या गर्दै सभापति थापाले गत वर्ष भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि आफूहरू अघि बढेको बताए ।

पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा आफूहरूले कुनै आर्थिक लेनदेन नगरेको दाबी गर्दै सभापति थापाले एकसुका पनि अनुचित आर्थिक कारोबार नभएको स्पष्ट पारेका छन् ।

“नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,” उनले भने । सभापति थापाले अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा अनुसन्धान गर्नुपर्ने निकायसँग प्रश्न गर्न सञ्चारमाध्यम र सरोकारवालालाई आग्रह गरे । सापकोटासँग सम्बन्धित विषयमा निष्पक्ष अनुसन्धान गरी त्यसमा संलग्न सबै पक्षको भूमिका खोतल्नुपर्ने उनको भनाइ थियो ।

“अनुसन्धान निष्पक्ष हुनुपर्छ । दूधको दूध, पानीको पानी छुट्टिने गरी छानबिन हुनुपर्छ,” सभापति थापाले भने । अडियो सार्वजनिक भएपछि आफू डराएर राजनीतिक भेटघाटमा लागेको भन्ने प्रचारप्रति पनि उनले आपत्ति जनाए । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारको विश्वासको मतसम्बन्धी विषय र अन्य राजनीतिक संवादका क्रममा विभिन्न दलका नेताहरूसँग भेटघाट भएको सभापति थापाले स्पष्ट पारे ।
आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक सन्दर्भमा भेटघाट गरेको सभापति थापाले बताए । ती भेटघाटलाई अडियो प्रकरणसँग जोडेर व्याख्या गर्नु उचित नभएको उनको भनाइ थियो ।

सभापति थापाले वर्तमान सरकारले पाँच वर्षका लागि पाएको जनादेशलाई सम्मान गर्ने बताउँदै सरकारले विपद्पछिको पुनःस्थापना, घरबारविहीन नागरिकको व्यवस्थापन, अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिए ।