शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १८:३३
shares

काठमाडौं । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातको जोखिमलाई दृष्टिगत गर्दै आवश्यक तयारी आजदेखि अघि बढाएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले शीतलहर र हिमपातलाई सामान्य मौसमी अवस्थाका रूपमा मात्र नलिई यसको सम्भावित प्रभावबाट बच्न समयमै पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउनुपर्ने बताए । हिमपात तथा शीतलहर पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना समीक्षा बैठकमा उनले मनसुनजन्य विपद्को प्रतिकार्यमा जस्तै चिसो मौसमबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि पनि सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा जोड दिए ।
“मध्य मङ्सिरदेखि मध्य फागुनसम्मको हिउँदे अवधिमा तराईमा शीतलहर, कुहिरो र हुस्सु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन्छ,” कार्यकारी प्रमुख डा उप्रेतीले भने, “विशेषगरी अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर कम हुने, लगातार चिसो दिन रहने र बाक्लो हुस्सु लाग्ने अवस्थाले जनजीवन प्रभावित पार्ने गर्छ ।”
शीतलहरका समयमा वायु प्रदूषणको जोखिम पनि बढ्न सक्ने उल्लेख गर्दै कार्यकारी प्रमुख डा उप्रेतीले पिएम २.५ र पिएम १० को मात्रा बढ्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताए । उनले नेपालमा वायु गुणस्तर सूचकाङ्क (एक्यआई) १५० देखि ४००–५०० सम्म पुगेका उदाहरण रहेको भन्दै त्यस्तो अवस्थामा स्वास्थ्यसम्बन्धी विशेष सूचना र सचेतना जारी गर्नुपर्नेमा जोड दिए ।
चिसो तथा प्रदूषणको अवस्था गम्भीर बनेमा विद्यालय बन्द गर्ने, सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तथा निर्माण कार्य रोक्ने सम्मका उपाय अपनाउनुपर्ने कार्यकारी प्रमुख डा उप्रेतीले बताए । उनले यसका लागि स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रलगायत सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।
कार्यकारी प्रमुख डा उप्रेतीले शीतलहरका समयमा चिसोबाट बच्न घरभित्र दाउरा वा हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था गर्नुपर्नेमा विशेष जोड दिए । झ्यालढोका बन्द गरेर आगो वा हिटर बाल्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई निस्सासिने, बेहोस हुने र ज्यान पनि जान सक्ने जोखिम रहने उनले बताए ।
विशेषगरी गर्भवती, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई चिसोबाट जोगाउन विशेष ध्यान दिनुपर्ने कार्यकारी प्रमुख डा उप्रेतीको सुझाव छ । उनले शीतलहरको सूचना जारी भएपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जोखिमयुक्त क्षेत्रमा दाउरा वितरण गर्ने, विपन्न परिवारलाई न्यानो कपडा र कम्बल उपलब्ध गराउनेलगायतका प्रतिकार्य गर्नुपर्नेमा जोड दिए । रेडक्रस तथा विकास साझेदार संस्थाहरूले पनि आवश्यक सहयोगका लागि पूर्वतयारी गर्नुपर्ने उनको भनाइ छ ।

























