काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

312
shares

ai logo सारांश

  • दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ।
  • दुर्गा मूर्तिमा घटस्थापनाको दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ।
  • सहरका गल्ली, मन्दिर र चौराह एकाबिहानैदेखि अबेर रातसम्म भजनकीर्तनले गुञ्जायमान भइरहेका छन्।

काठमाडौं – दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ। सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ। नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन। एउटै टोलमा दुईतीनवटा मूर्ति स्थापना गरिएको छ।

दसैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको स्थानीय अगुवा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए। ‘मूर्ति पूजासँग जोडिएको आफ्नै धार्मिक मान्यता र परम्पराअनुसार घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिहरूको सप्तमीका दिन मात्र आँखाको पट्टी खोलिन्छ। धार्मिक विश्वासअनुसार महिषासुर राक्षसको वध दुर्गा भवानीले सप्तमीका दिन नै गर्नुभएको हुनाले सोही दिन मूर्तिको आँखा खोल्ने परम्परा रहँदै आएको छ’, उनले भने, ‘दसैँभरि भव्य पूजाआजा र दर्शनपछि विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन यी मूर्तिहरूलाई नजिकैको राप्ती नदीमा लगेर भक्तिपूर्वक विसर्जन गरिन्छ।’

उनका अनुसार दुर्गा मूर्तिमा घटस्थापनाको दिनदेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ। दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दसैँको उमङ्ग सुरु हुने गर्दछ। घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजनकीर्तनमय भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए।

उनका अनुसार सहरका गल्ली, मन्दिर र चौराह एकाबिहानैदेखि अबेर रातसम्म भजनकीर्तनले गुञ्जायमान भइरहेका छन्। साना बालबालिकादेखि लिएर वृद्धवृद्धासम्म पूजाआजा र भजनकीर्तनमा सहभागी हुन उत्साहका साथ चोकचोकमा पुग्ने गरेका छन्।

नेपालगन्जका गल्ली, चोक, चौराह र मन्दिरमा करिब चार सयको हाराहारीमा दुर्गा मूर्ति स्थापना गरिएको उनको अनुमान छ। दुर्गा मूर्तिको स्थापनासँगै राति अबेरसम्म पनि नेपालगन्जवासी बजारका चोकचोकमा घुमिरहने रामलीला हेर्ने परम्पराजस्तै भएको उनको भनाइ छ।

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गा पूजाको रौनकता छाएको छ। एकाबिहानैदेखि अबेर रातसम्म भजनकीर्तन हुने गरेको छ। नेपालगन्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ। नेपालगन्जका गल्लीगल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए।