भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
वि.सं.२०८३ असोज २८ बुधवार १०:२६
shares

सारांश
- भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ ।
- जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ
- जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम बनाएर अनुगमनसमेत थालिएको छ ।
चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ ।
यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै ६२२ वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन् । जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम बनाएर अनुगमनसमेत थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सिसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका १० जनालाई एक साताको तालिमसमेत दिइएको छ ।
भरतपुर महानगरपालिकाले अनुगमनकर्तालाई तालिम समेत प्रदान गरेको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीलाई प्राविधिक क्षमता अभिवृद्धि गरिएको हो । एउटै कन्ट्रोल रुममा बसेर महानगरभित्र जडान गरिएका सिसी क्यामेरा अनुगमन गरी ट्राफिक नियम मिच्ने र आपराधिक गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सक्नेगरी व्यवस्थापन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पूर्वपश्चिम राजमार्गको टिकौली र नारायणगढ–मुग्लिन सडकखण्डको ओरालोमा स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र गति मापनसहितको सिसी क्यामेरा राखिएको छ । त्यस्तै मुग्लिन, रामनगर, पुलचोक र रत्ननगरमा अटोमेटिक नम्बर प्लेट रेकर्ड प्रणाली भएको क्यामेरा जडान गरिएको छ । थापाले भने, “जिल्ला प्रहरी र ट्राफिकले एकीकृत कन्ट्रोल रुममार्फत सिसी क्यामेराको अनुगमन गर्नेछन् ।” यसअघि सिसी क्यामेरा नहुँदा धेरै दुर्घटनाका घटना पहिचानमा कठिन भएको जनाउँदै उनले अब यो समस्या नहुने बताए ।
महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले समाजमा हुनसक्ने आपराधिक क्रियाकलाप, सवारी दुर्घटनालगायतका शान्ति, सुरक्षा र अमनचयनका लागि महानगरले सिसी क्यामेरा जडानमा सहयोग गरेको बताए । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ । महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ ।
उनले भने, “महानगरवासीलाई सुरक्षित बसाइ र अमनचयनका लागि ठूलो खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो ।” क्यामेरा जडानपछि उपयोगलाई ध्यानमा दिँदै त्यहाँ रहेर काम गर्ने प्रहरीलाई तालिमसमेत दिइएको अधिकारीले बताए ।
भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो । जडान गरिएका क्यामेरामध्ये आठवटा गति मापन गर्ने र चारवटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौवटा छन् ।
गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ । प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो । साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ । कार्यवहाक प्रमुख अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक ४७ लाख भुक्तानी गर्नेगरी सम्झौता गरिएको हो ।
























