काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया

325
shares

दमौली। तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ९५४ जना लाभान्वित भएका हुन् ।

गाउँपालिकाका सम्पूर्ण वडामा असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती आँखा शिविर तथा असोज २३ र २४ गते कोटदरबार स्वास्थ्यचौकीमा आयोजित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरबाट स्थानीयले आँखा उपचार सेवा लिएका हुन् ।

शिविरमा ९५४ जनाले सेवा लिएकामध्ये ५७६ जनाको आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार गरिएको छ । त्यस्तै, नजिकको दृष्टिमा समस्या भएका १०१ जनालाई चश्मा वितरण गरिएको छ भने मोतियाविन्दुको समस्या भएका १०३ जनाको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईँले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाका विभिन्न वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराइएको हो । विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखा परीक्षण र उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको शिविर र कोटदरबार स्वास्थ्यचौकीमा भएको शल्यक्रिया सेवाले आँखासम्बन्धी समस्या भएका नागरिकलाई उपचारमा सहजता प्रदान गरेको उनले बताए। विशेषगरी मोतियाविन्दुको शल्यक्रिया निःशुल्क रूपमा उपलब्ध हुँदा आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई राहत पुगेको छ ।

स्थानीयस्तरमै आँखा परीक्षण, उपचार, चश्मा वितरण तथा मोतियाविन्दुको शल्यक्रियाजस्ता सेवा उपलब्ध गराउँदा नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै समय र खर्च पनि बचत भएको छ ।