काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ऋण गरेर व्यापारिक भवन, नागरिकको करबाट ऋणको किस्ता

585
shares

सर्लाहीको लालबन्दीमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएको भवन अलपत्र परेको छ। नगर विकास कोषको करोडौँ ऋण सहायतामा तयार लालबन्दी नगरपालिका–७, डुमडुमेस्थित व्यापारिक भवन (सपिङ कम्प्लेक्स) प्रयोगविहीन बनेको हो।

निर्माण सम्पन्न भएर पनि प्रयोगका लागि ठेक्का नलागेको यस भवनमा २०८२ साल भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा तोडफोड भएको थियो। त्यसपछि भवनको अवस्था थप जर्जर बनेको छ।

व्यापारिक प्रयोजनले निर्माण गरिएको यस भवन ठेक्काबाट नगरले आर्थिक उपार्जन गर्नुका साथै व्यापार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको थियो। तर, अलपत्र भवन अहिले नगरको सेतो हात्ती सावित भएको छ।

नगर विकास कोषको सर्तबमोजिम साँवा र ब्याज रकम तिर्नुपरिरहेको तर भवनबाट कुनै आयआर्जन नभएको नगरका प्रशासकीय प्रमुख पितानाथ लुइँटेलले बताए।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको उक्त भवनलाई सञ्चालनयोग्य बनाउनसमेत थप ठूलो धनराशि खर्च हुने देखिएको छ। यस भवन निर्माणका लागि २०७६ जेठमा किराँतेश्वर माउन्टपुमरी जेभीले ६ करोड ४१ लाख ६० हजार ३६२ रुपैयाँ २९ पैसामा ठेक्का सकारेको थियो।

निर्माण सम्पन्न गरी २०७८ चैत १९ गते तत्कालीन मेयर मानबहादुर खड्काले भवन उद्घाटन गरेका थिए। वार्षिक करिब दुई करोड रुपैयाँ आम्दानी गर्ने बताइएको यस भवनको ठेक्का लगाउन भने हम्मेहम्मे परेको छ। ठूलो लगानीमा निर्माण गरिएको यस भवनको छ तलामा ५३ वटा कोठा, लिफ्टलगायतका संरचना निर्माण भएका छन्।

ऋण लिएर राम्रो काम गरेको भन्दै कोषले देशभरकै उत्कृष्ट नगरका रूपमा नगद एक लाख रुपैयाँ पुरस्कारसहित सम्मानसमेत गरेको थियो। तर, भवन बनेको पाँच वर्षसम्म पनि यसबाट कुनै आर्थिक उपार्जन गर्न नसकिएको पालिकाले जनाएको छ।

यस भवनको ठेक्काका लागि पालिकाले विभिन्न समयमा दर्जन पटक सूचना निकालेको थियो। पहिलो पटक २०८० असारमा मासिक ६ लाख रुपैयाँ न्यूनतम भाडादर कायम गरेको पालिकाले ठेक्का नलागेपछि दोस्रो पटक चार लाख ५० हजार, तेस्रो पटक तीन लाख १५ हजार हुँदै चौथो पटक दुई लाख ५२ हजार रुपैयाँ भाडादर कायम गरेर सूचना प्रकाशित गरेको हो।

एक वर्षपछि २०८२ असारमा आदित्य कन्स्ट्रक्सन, चन्द्रनगर गाउँपालिका–२ ले दुई लाख ५७ हजार ५०५ रुपैयाँमा ठेक्का लिएको थियो। भवन भाडामा लगाउन नसक्दै जेनजी आन्दोलनका क्रममा भवन तोडफोड भएपछि वर्ष दिन पनि नपुगी नगरले उक्त कम्पनीसँगको ठेक्का सम्झौतासमेत तोड्नुपर्‍यो। त्यसयता भवन जीर्ण अवस्थामा छ।

अहिले पालिकाले मर्मतसम्भार गरेर भवन ठेक्कामा लगाउने जनाएको छ। तोडफोडबाट जीर्ण बनेको उक्त भवनलाई मर्मतसम्भार गरेर भाडामा लगाउन नगरले यस वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख वासुदेव अधिकारीले जानकारी दिए।

‘गत वर्ष बजेट बनाइसकेपछि भवन तोडफोड भयो,’ उनले भने, ‘मर्मतसम्भारका लागि कुनै बजेट भएन। हामीले यस वर्षको नगरसभाबाट बजेट विनियोजन गरेका छौँ। यसलाई थप सुविधासम्पन्न बनाएर ठेक्का लगाउने छौँ।’

भवनबाट कुनै आयस्रोत नभएपछि नगरको आन्तरिक स्रोत अर्थात् नागरिकले तिरेको करबाट ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरिरहेको उनको भनाइ छ।

‘ऋण लिएपछि त तिर्नै पर्छ,’ मेयर अधिकारीले भने, ‘नगरको सम्पत्ति भएपछि दायित्व पनि नगरकै भयो।’

उक्त भवन ठेक्का लगाउन परेको सकसको विषयमा भने निर्माणकै क्रममा भएको प्राविधिक त्रुटि जिम्मेवार रहेको उनको दाबी छ। अघिल्लो कार्यकालका जनप्रतिनिधिको योजनाअनुसार निर्माण भएको संरचना भएकाले आफूलाई धेरै कुरा थाहासमेत नभएको उनले बताए।

यता, देशकै चर्चितमध्ये एक लालबन्दी बजारको मध्य भागमा पूर्व–पश्चिम राजमार्गसँगै निर्माण गरिएको सुविधासम्पन्न भवन अलपत्र परेको विषयले स्थानीय चिन्तित बनेका छन्। नगरवासीको हैसियतले आफूहरूको थाप्लोमा ऋण थोपरेर तयार गरिएको भवन उपयोगविहीन बनेको भन्दै स्थानीय ऋषिप्रसाद सुवेदीले गुनासो गरे।

यस्ता योजना ल्याउनुअघि त्यसको औचित्य र उपयोगिता स्पष्ट हुनुपर्नेमा लहडमा गरिएको विकासले नगर र नगरवासीलाई थप ऋणको भारी बोकाएको उनको तर्क थियो।

‘मूल रोडसँगै यति ठूलो भवन बनेको छ,’ उनले भने, ‘यसको प्रयोग के त? नगरले लामो समय ठेक्का लगाउनै सकेन। अनेक गरेर दररेट घटाएर लगाएको पनि पाँच महिना चलेन। तोडफोड भयो। अहिले नागरिकले खाइनखाई तिरेको करबाट ऋण तिरिरहेको छ।’

‘यो कुनै हिसाबले न्यायसङ्गत भएन। यसलाई छिटोभन्दा छिटो प्रयोगमा ल्याएर आर्थिक उपार्जन गरी नागरिकमाथिको भार हटाउनुपर्छ।’

विभिन्न निकायबाट निर्माण भएका यस्ता भवन प्रयोगविहीन हुँदा तीनै तहका सरकारलाई दोहोरो घाटा भइरहेको जानकारहरूको भनाइ छ। त्यति मात्र होइन, राज्यको लगानीसमेत दुरुपयोग भइरहेको छ। अर्कोतर्फ, निर्माण सम्पन्न नहुँदै तथा प्रयोगमै नआई यस्ता संरचना जीर्ण बन्दै गएका छन्।