ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
वि.सं.२०८३ असोज २२ बिहीवार ०७:०८
shares

लमजुङ । कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक।।।ढुक।।।’ आवाजले बिउँझाउथ्यो ।
झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ । अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका अभिन्न हिस्सा थिए ।
आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी–जाँतोेको प्रयोग घटदै गएको छ । प्रत्येक घरमा देखिने यी साधन अहिले कतै घरको कुनामा थन्किएका छन् भने कतै पुरानो पुस्ताको स्मरणमा मात्रै छन् ।
ढिकी नेपालको परम्परागत कुटानी–पिसानी प्रविधिको महत्वपूर्ण साधन हो । धान कुट्न, कोदो तथा जौको भुस निकाल्न, चिउरा बनाउन र विभिन्न खाद्य सामग्री कुट्न यसको प्रयोग हुन्थ्यो । जाँतोमा मकै, कोदो, फापर, गहुँ, दाललगायत अन्न पिसिन्थ्यो । स्थानीय सामग्रीबाटै निर्माण हुने यी साधन गाउँको आवश्यकता र सीपअनुसार विकसित परम्परागत प्रविधिका उदाहरण थिए ।
दूधपोखरी गाउँपालिकाकी ८५ वर्षीया मायाकुमारी गुरुङलाई आफ्ना पालाका ती दिन अझै सम्झना छ । “हाम्रा पालामा सबै घरमा ढिकी हुन्थ्यो । मकैको छुट्टै, कोदोको छुट्टै जाँतो हुन्थ्यो । गाउँमा मिल आएपछि सबैले ढिकी–जाँतोे प्रयोग गर्न छाडे । त्यसबेलाको खानाको स्वाद सम्झँदा अहिले पनि जिब्रो रसाउँछ,” उनले भने ।
दोर्दी गाउँपालिका–४ की ७९ वर्षीया लालमाया घिमिरेले आफ्नो जीवनको अधिकांश समय ढिकी कुट्दै र जाँतो पिन्दै बिताए । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरको स्वाद अहिले पनि बिर्सन नसकेको उनले सुनाए ।
“पहिले गाउँमा ढिकी–जाँतोे नभएको घर हुँदैनथ्यो । अहिले देख्नै मुस्किल छ । विगतका ती दिन सम्झँदा कथाजस्तै लाग्छ,” उनले भने ।
मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका स्थानीय कामसार्की गुरुङका अनुसार गाउँमा करिब १३–१४ वर्षअघि विद्युतीय मिल सञ्चालनमा आएपछि ढिकी–जाँतोे प्रयोग गर्ने चलन लगभग समाप्त भएको हो । “पहिले सबै घरमा ढिकी–जाँतोे थियो । अहिले एकाध घरमा मात्रै बाँकी छ । परम्परा हराउँदै गएको देख्दा दुःख लाग्छ,” उनले भने ।
मस्र्याङ्दी गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार १०–१२ वर्षअघिसम्म गाउँका अधिकांश घरमा ढिकी–जाँतोे नियमित प्रयोग हुन्थ्यो । अहिले एक–दुई घरमा मात्रै ती सामग्री बाँकी रहेको उनले बताए । बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँकी सावित्री रानामगरका अनुसार विद्युतीय मिल सञ्चालनमा आएपछि प्रयोग घट्दै गएर अहिले गाउँमा दुई घरमा मात्र ढिकी–जाँतोे बाँकी रहेको उनले सुनाए ।

























