काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

416
shares

ai logo सारांश

  • भोटेकोशी बाढीपीडित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
  • करिब ६ हजार प्रभावित परिवारलाई बैंक खातामार्फत नगद सहायता दिइने, जोखिममा रहेका परिवारलाई प्राथमिकता।
  • बाढी प्रभावित क्षेत्रमा रेडक्रसको राहत, आवास, खानेपानी र मानसिक स्वास्थ्यसम्बन्धी सहयोग निरन्तर।

काठमाडौं  नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहयोग गर्ने भएको छ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै आर्थिक सहयोग घोषणा गरेका थिए।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको ‘समुन्नति कार्यक्रम’मार्फत प्रभावित परिवारलाई नगद सहयोग उपलब्ध गराउन मन्त्रालय र नेपाल रेडक्रसबीच सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारीले मंगलबार हस्ताक्षर गरे।

सम्झौताअनुसार बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले सहयोग दिइनेछ। प्रारम्भिक अनुमानअनुसार करिब ६ हजार परिवार बाढीबाट प्रभावित भएका छन्।

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्क र आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही छनोट गरिनेछ। छनोट भएका लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिने उनले बताए।

उनका अनुसार प्रभावित परिवारले प्राप्त रकम खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनलगायतका आवश्यकतामा खर्च गर्न सक्नेछन्।

नगद सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसहित विशेष जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ।

सम्झौताअनुसार मन्त्रालयले कार्यक्रमको नीतिगत निर्देशन, अनुगमन तथा समन्वय गर्नेछ। स्थानीय तहले लाभग्राही पहिचान र प्रमाणीकरणमा सहयोग गर्नेछ भने नेपाल रेडक्रसले नगद तथा भौचर सहायता वितरण, समुदायसँग समन्वय, अनुगमन तथा जवाफदेहितासम्बन्धी काम गर्नेछ।

मानवीय सहायता निरन्तर

नेपाल रेडक्रसले भदौ १० गते रसुवा–भोटेकोशीमा आएको बाढीपछि सुरु गरेको मानवीय सहायता निरन्तर रहेको जनाएको छ। प्रभावित क्षेत्रमा बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणलगायतका क्षेत्रमा सहयोग जारी रहेको रेडक्रसले जनाएको छ।

आइएफआरसी नेपालका प्रमुख डेभिड फिसरले बाढीपछि रेडक्रसका स्वयंसेवकले गरेको काम प्रशंसनीय रहेको बताए। बाढी प्रतिकार्यका लागि आइएफआरसीले सहयोगको अपिल गरेको र त्यसअनुसार आर्थिक सहयोग प्राप्त भइरहेको उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) नेपालका प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन र बेपत्ता व्यक्तिका परिवारको खोजीमा नेपाल रेडक्रससँग सहकार्य भइरहेको बताए।

बाढी प्रभावित क्षेत्रमा आगामी तीन महिनाका लागि तत्काल गर्नुपर्ने कामको योजना समेत तयार गरिएको रेडक्रसले जनाएको छ।