काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आश्विन कृष्ण द्वादशी : आज फर्पिङमा हरिशङ्करको मुख्य जात्रा

455
shares

ai logo सारांश

  • फर्पिङमा हरिशङ्कर जात्राको मुख्य दिन, रथ नगर परिक्रमा गरिँदै
  • फर्पिङको प्रसिद्ध हरिशङ्कर जात्रा आज, सात देवताको खट बोकिने
  • हरि–शङ्करको धार्मिक यात्राले फर्पिङमा उत्सवमय वातावरण

काठमाडौं। आश्विन कृष्ण द्वादशीका अवसरमा काठमाडौंको दक्षिणी भेग फर्पिङमा प्रसिद्ध हरिशङ्कर जात्राको मुख्य दिन आज विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाइँदै छ।

जात्राको मुख्य दिन गोपालेश्वर, कुमारी, महालक्ष्मी र शेषनारायणका रथ नगर क्षेत्रमा परिक्रमा गराइने फर्पिङ जात्रा पर्व सञ्चालन तथा संरक्षण समितिले जनाएको छ। रथमा माथिल्लो भागमा महादेव र तल्लो भागमा शेषनारायणको मूर्ति राख्ने परम्परा रहेको समितिले जनाएको छ।

जात्राका क्रममा पशुपति क्षेत्रस्थित मृगस्थलीबाट कानफट्टा जोगी फर्पिङ पुगेर नवदुर्गाको पूजा–आराधना तथा बलि दिने परम्परा पनि छ।

गोपालेश्वरको यात्रामा प्रयोग हुने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि जात्रा समापन हुन्छ। यस वर्ष समापन कार्यक्रम असोज २३ गते शुक्रबार हुने समितिले जनाएको छ।

फर्पिङको यस यात्रामा शिखरनारायणलाई ‘हरि’ र गोपालेश्वरलाई ‘शङ्कर’का रूपमा मानिन्छ। स्थानीयवासीका अनुसार फर्पिङको हरिशङ्कर यात्रा र भक्तपुरको बिस्केट जात्राबारे मृत्युपछि यमराजले समेत प्रश्न गर्ने धार्मिक विश्वास छ। त्यसैले यी दुवै जात्रा जीवनमा कम्तीमा एकपटक हेर्नैपर्ने मान्यता रहेको उनीहरू बताउँछन्।

भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् सुरु हुने जात्राको तयारी तथा प्रारम्भिक विधि भने भाद्र शुक्ल प्रतिपदादेखि नै सुरु हुने गरेको छ।

जात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सातवटा खट बोकिन्छन्। ती खटमा सम्बन्धित देवताका मुखलिङ्ग शैलीका मूर्ति स्थापना गरिन्छ। आयोजकका अनुसार फर्पिङको जात्रामा प्रयोग हुने खट नेपालमा मनाइने खटयात्रामध्ये सबैभन्दा ठूला खटमा पर्छन्। एउटा खट बोक्न कम्तीमा ५० जना आवश्यक पर्छ।

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरूपका रूपमा व्याख्या गरिएकाले हरिशङ्कर यात्रा सुरु भएको स्थानीय वृद्धहरू बताउँछन्। स्थानीय मान्यताअनुसार फर्पिङको यो यात्रा वाणासुरको पालादेखि सुरु भएको हो। वाणासुरले सुरु गरेको मानिने भएकाले जात्रामा आर्य र अनार्य संस्कृतिबीचको समन्वयसमेत देखिने स्थानीयवासीको भनाइ छ।

फर्पिङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको यस जात्रालाई धार्मिक पर्यटनसँग जोड्ने गरी प्रचारप्रसार र प्रवर्द्धन गर्ने तयारीमा नगरपालिका रहेको जनाएको छ।