काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन

572
shares

ai logo सारांश

  • बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ ।
  • जिल्लाका धेरै गाउँ भौगोलिक रूपमा विकट छन् ।
  • बाजुराको भौगोलिक अवस्था चुनौतीपूर्ण छ ।

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । प्रहरी प्रशासनले समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउँदै कानुनी सचेतना दिने तथा सेवा प्रवाहको बारेमा जानकारी गराउने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो ।

प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा लगायतका विषयमा समुदायमै पुगेर नागरिकलाई सचेत गराउने, समस्या सुन्ने, अपराध रोकथाममा सहकार्य गर्ने र सेवा प्रवाहलाई सहज बनाउने प्रयास गरिएको छ ।

दुर्गम भूगोल, छरिएका बस्ती र सीमित स्रोतसाधनका कारण बाजुरामा शान्ति सुरक्षा व्यवस्थापन आफैँमा चुनौतीपूर्ण छ । त्यस्तो अवस्थामा सुरक्षा निकायको सक्रियतासँगै स्थानीय सरकार, समुदाय र नागरिकको सहभागितालाई जोडेर काम गर्न सके अपराध न्यूनीकरण, सामाजिक सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिने देखिन्छ ।

घटनाअघि नै रोकथामको प्रयास

जिल्लाका धेरै गाउँ भौगोलिक रूपमा विकट छन् । कतिपय बस्तीबाट नजिकको प्रहरी चौकीसम्म पुग्न पनि घण्टौँ हिँड्नुपर्ने अवस्था छ । यस्तो भौगोलिक अवस्थाका कारण प्रहरीको भूमिका घटना भएपछि अनुसन्धान गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनेमा मात्र सीमित हुनुहुन्न भन्ने मान्यतालाई पनि सँगै अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले यही अवस्थालाई ध्यानमा राख्दै सीमित जनशक्तिका बाबजुद अपराध हुनुअघि नै सम्भावित जोखिम पहिचान गर्ने र नागरिकलाई कानुनी तथा सामाजिक विषयमा सचेत गराउने अभ्यासलाई अघि बढाएको छ । समुदायमा हुने साना विवाद समयमै समाधान हुन नसक्दा पछि ठूलो घटनाको रूप लिन सक्ने प्रहरीको बुझाइ छ ।

पारिवारिक, छिमेकी, लेनदेन र सामाजिक विभेदलगायतका विषयमा समयमै संवाद र सहजीकरण हुन सके विवादका धेरै घटना नियन्त्रण गर्न सकिने समाजको बुझाइ छ ।

प्रहरीले त्यसका लागि स्थानीय जनप्रतिनिधि, विद्यालय, युवा तथा महिला समूह र समुदायका अगुवासँग समन्वय गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नागरिकले प्रहरीलाई केवल कारबाही गर्ने संस्थाका रूपमा मात्र नभई समस्यामा सहयोग लिने निकायका रूपमा बुझ्न थालेमा सुरक्षा व्यवस्थापनमा केही हदसम्म सहज भएको सुरक्षा फौजको बुझाइ छ ।

सोहीअनुरुप जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले समुदायमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहका विषयमा नागरिकलाई जानकारी गराउन स्थानीयस्तरमै कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

प्रहरी कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा लागूऔषध दुव्र्यसन, महिला हिंसा, मानवबेचबिखन, जर्बजस्तीकरणी, सवारी दुर्घटना, बालविवाह, चोरी, लैङ्गिक तथा घरेलु हिंसा, विपद् व्यवस्थापन, गाँजा फडानी र नागरिक सुनुवाइलगायतका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा बडीमालिका नगरपालिकामा १४३, बुढीगङ्गा नगरपालिकामा २२५, त्रिवेणी नगरपालिकामा १२६, बुढीनन्दा नगरपालिकामा ११९, गौमुल गाउँपालिकामा १०३, खप्तड छेडेदह गाउँपालिकामा १६९, स्वामीकार्तिक खापर गाउँपालिकामा १२३, जगन्नाथ गाउँपालिकामा १११ र हिमाली गाउँपालिकामा १७१ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीको तथ्याङ्क छ ।

यस्तै, गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयले नौवटै स्थानीय तहका एक–एक स्थान छनोट गरी नौ ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

चालु आर्थिक वर्षमा पनि त्रिवेणी–९ को ताम्सु, बडीमालिका–२ को भौनेरा र आइतबार बुढीगङ्गा नगरपालिका—६ बाम्कामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।

नागरिकसम्म पुग्ने प्रयास

बाजुराको भौगोलिक अवस्था चुनौतीपूर्ण छ । धेरै बस्तीबाट सदरमुकाम वा प्रहरी कार्यालयसम्म पुग्न धेरै समय र खर्च लाग्छ । त्यस्तो अवस्थामा नागरिकले समस्या परेपछि मात्र प्रहरी कार्यालय धाउनेभन्दा प्रहरी आफैँ समुदायसम्म पुगेर समस्या बुझ्ने अभ्यास महत्त्वपूर्ण मानिएको छ ।

जिल्लामा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयसहित १० वटा प्रहरी चौकी, तीनवटा इलाका प्रहरी कार्यालय र चारवटा अस्थायी प्रहरी पोष्ट गरी २४ वटा प्रहरी युनिटबाट शान्ति सुरक्षा प्रदान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराले अपराध हुनुअघि नै नागरिकलाई सचेत गराउने तथा अपराध भइसकेपछि त्यसलाई नियन्त्रण गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको बताइन् ।

उनका अनुसार समाजमा शान्ति सुरक्षा कायम गर्नेदेखि विपद्को समयमा उद्धारलगायतका काममा प्रहरी सक्रिय रहँदै आएको छ । तर यस्ता काम प्रहरी एक्लैको प्रयासले सम्भव नहुने भएकाले समुदाय, स्थानीय सरकार र नागरिकको साथ तथा सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्लो समय महिला तथा बालबालिकासँग सम्बन्धित अपराधका घटना बढेको देखिनु तथा विद्यालय उमेरका बालबालिका लागुऔषध, यौनजन्य तथा साइबर अपराधमा संलग्न हुने जोखिम रहेकाले अभिभावक र समुदायले नियमित निगरानी गर्नुपर्नेमा उनले जोड दिइन् ।

समुदायबाट आउने अपराधसम्बन्धी सूचना प्रहरीका लागि अत्यन्त महत्त्वपूर्ण हुने भन्दै नायव उपरीक्षक बोहराले सत्य तथ्य सूचना मात्रै उपलब्ध गराउन आग्रह गरिन् ।

उनका अनुसार बाजुरामा उजुरी कम पर्ने, उजुरी परे पनि ढिलो आउने र घटना भएको जानकारी आएपछि मुचुल्का तयार गर्ने क्रममा साक्षी बस्न नागरिक हिच्किचाउने जस्ता चुनौती छन् ।

समुदायसँग नियमित भेटघाट, सार्वजनिक छलफल, विद्यालय कार्यक्रम, टोलस्तरीय सचेतना र स्थानीय जनप्रतिनिधिसँगको समन्वयले प्रहरी र नागरिकबीचको दूरी घटाउन सक्ने उनको विश्वास छ ।

सेवा प्रवाहमा नागरिकमैत्री अभ्यास

शान्ति सुरक्षासँगै नागरिकले पाउने सरकारी सेवा पनि सहज, छिटो र पारदर्शी हुनुपर्ने हुन्छ । स्थानीय तहमा विभिन्न सेवा विस्तार हुँदै गए पनि सेवा लिने प्रक्रिया, आवश्यक कागजात र सम्बन्धित निकायबारे पर्याप्त जानकारी नहुँदा नागरिकले अझै समस्या भोग्ने गरेका छन् ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षासँगै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा प्रवाहका क्रममा नागरिकले भोग्ने समस्या समाधान गर्न तथा सेवा प्रक्रियाबारे जानकारी दिन समुदायस्तरमा अन्तरक्रिया र सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको सहायक प्रमुख जिल्ला अधिकारी समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयासले जानकारी दिए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सेवा प्रवाहसम्बन्धी समस्या कार्यालयसम्म नआइपुग्दा नागरिकले दुःख पाइरहेको अवस्था हुन सक्ने भएकाले प्रशासन आफैँ समुदायमा पुगेर नागरिकका समस्या सुन्ने र अन्तरक्रिया गर्ने अभ्यास अघि बढाइएको बताए । ‘यहाँका नेपाली, यही जन्मेपछि नागरिकता पाउनुपर्छ’, उनले भने, ‘कागजकै अभावमा नागरिकताबाट वञ्चित हुनु हुँदैन ।’

बुढीगङ्गा नगरपालिका–६ बाम्कामा आइतबार आयोजित सचेतनामूलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलाले शान्ति सुरक्षा एवं अपराध नियन्त्रणमा प्रहरी प्रशासनको मात्रै नभई नागरिकको समेत महत्त्वपूर्ण भूमिका रहने बताए ।

समाजमा हुने अपराध, सामाजिक विकृति तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि स्थानीय नागरिक, जनप्रतिनिधि, प्रहरी र प्रशासनबीच निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहेको उनले बताए ।

समाजमा अपराध नियन्त्रणका लागि कानुन कार्यान्वयनसँगै कानुनी ज्ञान पनि आवश्यक हुन्छ । आफ्नो अधिकार, कर्तव्य र कानुनी प्रक्रियाबारे जानकारी नहुँदा कतिपय नागरिक आफैँ समस्यामा पर्ने गरेका छन् । यही अवस्थालाई ध्यानमा राखेर प्रहरी र प्रशासनले समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

विद्यालय तहमा विद्यार्थीलाई साइबर सुरक्षा, लागूऔषधबाट हुने असर, बालअधिकार र अनुशासनबारे जानकारी गराउने तथा समुदायमा अभिभावक र स्थानीय नागरिकसँग छलफल गर्ने अभ्यासले अपराध रोकथामसँगै नागरिकमैत्री सेवा प्रवाहमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ ।

प्रहरी प्रशासनले समुदायमा पुगेर नागरिकका समस्या सुन्ने, कानुनी सचेतना फैलाउने र स्थानीय तहसँग समन्वय बढाउने अभ्यासलाई निरन्तरता दिँदै आएको छ ।

दुर्गम भूगोल र सीमित स्रोतसाधनका बाबजुद समुदायलाई सुरक्षा व्यवस्थापनको साझेदार बनाउने प्रयासले नागरिक र राज्यका निकायबीचको सम्बन्धलाई थप नजिक ल्याउने काम गरेको छ । रासस