गृहपृष्ठ राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले पूर्वप्रतिनिधिसभा सदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका अगुवा बस्नेतको ७४ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

प्रतिनिधिसभाका पूर्वसदस्य बस्नेतको निधनमा राष्ट्रियसभाले शोक व्यक्त गरेको छ । स्वर्गीय बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा भोजपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

शोक प्रस्ताव पारित भएपछि सदनले दिवङ्गत बस्नेतको सम्मानमा एक मिनेट मौनधारण गरेको थियो । बैठकले उनिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

यसअघि आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१’ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको वार्षिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राईले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन।

त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले समितिको ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ प्रतिवेदन पेस गरे । सभाका सचिव तुलबहादुर कँडेलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज १६ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु