गृहपृष्ठ दसैँका लागि नयाँ नोट साट्न छुट्टै मिति नतोक्ने राष्ट्र बैंक
दसैँका लागि नयाँ नोट साट्न छुट्टै मिति नतोक्ने राष्ट्र बैंक
काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ तथा खुद्रा नोट सटही गर्न छुट्टै मिति नतोक्ने भएको छ । राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटहीको सुविधा उपलब्ध गराउने भएको हो ।
विगतमा दसैँलाई लक्षित गरी निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने गरिएको थियो । तर, यस वर्षदेखि नयाँ तथा खुद्रा नोट सटहीलाई नियमित सेवाकै रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकसँग पर्याप्त नयाँ नोट मौज्दात रहेकाले मागअनुसार नोट उपलब्ध गराइनेछ । मागअनुसार नयाँ नोटले नपुगेमा सफा तथा चलनयोग्य नोटसमेत सटहीका लागि उपलब्ध गराउने राष्ट्र बैंकको तयारी छ ।
राष्ट्र बैंकको बैंकिङ काउन्टरसँगै बैंक तथा वित्तीय संस्थाले समेत राष्ट्र बैंकबाट नयाँ तथा खुद्रा नोट लिएर आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन् ।
हाल राष्ट्र बैंकमा व्यक्तिगत प्रयोजनका लागि नोट सटही गर्न जानेले बढीमा दुई बन्डलसम्म साट्न पाउने व्यवस्था छ । एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक सय थान नोट रहनेछन् ।
प्रकाशित समय : १४:०६ बजे

















