काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालय एअरलाइन्सको काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरू

1.45K
shares

हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ–काठमाडौं रुटमा सिधा नियमित उडान सुरु गरेको छ। एयरलाइन्सले सेप्टेम्बर ३०, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार उद्घाटन उडान एच९–२२५ बुधबार साँझ ५:३७ बजे काठमाडौंबाट हाङझाउका लागि उडेको थियो। उक्त विमान चीनको स्थानीय समयअनुसार अक्टोबर १ को बिहान १:०८ बजे हाङझाउ पुगेको थियो।

त्यसैगरी, हाङझाउ–काठमाडौंतर्फको एच९–२२६ उडान अक्टोबर १ मा चीनको स्थानीय समयअनुसार बिहान ३:१८ बजे उडेर नेपाल समयअनुसार बिहान ६:२८ बजे काठमाडौं अवतरण गरेको थियो। उक्त उडानमार्फत १५४ जना चिनियाँ पर्यटक नेपाल आएका एयरलाइन्सले जनाएको छ।

हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ–काठमाडौं सेक्टरमा सिधा नियमित व्यावसायिक उडान गर्ने आफू पहिलो र एकमात्र एयरलाइन्स भएको दाबी गरेको छ।

कम्पनीले प्रारम्भिक चरणमा यस रुटमा सातामा दुईवटा उडान सञ्चालन गर्ने जनाएको छ। काठमाडौंबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ भने हाङझाउबाट काठमाडौंका लागि सोमबार र बिहीबार उडान सञ्चालन हुनेछ।

सेप्टेम्बर ३० देखि अक्टोबर २१ सम्मको तालिकाअनुसार काठमाडौंबाट उडान साँझ ५:१५ बजे छुटेर भोलिपल्ट बिहान १:०५ बजे हाङझाउ पुग्नेछ।

फर्किने उडान हाङझाउबाट बिहान २:०५ बजे छुटेर बिहान ६:२० बजे काठमाडौं आइपुग्नेछ। यात्रुको माग र लोड फ्याक्टरका आधारमा भविष्यमा उडान संख्या थप गर्ने सम्भावना रहेको एयरलाइन्सले जनाएको छ।

हिमालय एयरलाइन्सले चीनका प्रमुख पर्यटन तथा आर्थिक केन्द्रसँग नेपालको सिधा हवाई सम्पर्क विस्तार गर्ने रणनीतिअन्तर्गत हाङझाउ रुट सुरू गरेको जनाएको छ।

कम्पनीले दीर्घकालमा चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रसँग सिधा हवाई सेवा विस्तार गर्दै १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको जनाएको छ।

कम्पनीका अनुसार नयाँ रुटले मनोरञ्जनका लागि यात्रा गर्ने पर्यटकसँगै व्यवसायी, व्यापारिक प्रतिनिधिमण्डल, विद्यार्थी तथा सांस्कृतिक आदानप्रदानमा सहभागी यात्रुलाई पनि सेवा दिनेछ।