गृहपृष्ठ पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताए ।
पर्यटनमन्त्री पौडेलले पर्यटन विकासलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने भएकाले सरकारका विभिन्न निकायबिच प्रभावकारी समन्वयमा आफूले निरन्तर जोड दिँदै आएको उल्लेख गरे । उनले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको भन्दै बदलिँदो पर्यटन परिवेशअनुसार संस्थागत क्षमता र सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा र समुदायमा आधारित जात्रा तथा पर्वहरू पर्यटनका महत्त्वपूर्ण आधार भएका बताए । पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने उनको भनाइ छ ।
उनले हिमालयलाई नेपालको मात्र नभई यस क्षेत्रकै पवित्र प्राकृतिक सम्पदाका रूपमा लिँदै हिमालबाट उत्पन्न नदीले यस क्षेत्रका करोडौँ मानिसको जीवनयापनमा योगदान पु¥याइरहेको बताए ।
प्रकाशित समय : ०९:२० बजे


















