गृहपृष्ठ यूएन महासभामा प्रधानमन्त्री शाहले भने– नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी
यूएन महासभामा प्रधानमन्त्री शाहले भने– नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल हिमालयको काखमा रहेको र त्यहाँबाट आफूले सम्पूर्ण मानवताका लागि गम्भीर चेतावनी बोकेर आएको बताए।
‘म हिमालयको काखमा रहेको नेपालबाट एउटा गम्भीर चेतावनी बोकेर आएको छु– यो चेतावनी केवल नेपालका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो,’ उनले भने।
सम्बोधनका क्रममा उनले विकास, लोकतन्त्र, शान्ति र युवा पुस्ताको आशाबारे चर्चा गर्न चाहेको भए पनि देशले हालै भोगेको ठूलो विपद्का कारण मृत्यु र विनाशको पीडाबारे बोल्न बाध्य भएको बताए।
‘म आज ती परिवारका बारेमा बोलिरहेको छु, जसले आफ्ना प्रियजन गुमाएका छन् वा कहिल्यै नफर्कने आशामा पर्खिरहेका छन्,’ उनले भने, ‘हिलो, चट्टान र बाढीका बीच आफ्ना आफन्त खोजिरहेका समुदायको पीडा व्यक्त गरिरहेको छु, जहाँ कतिपयका शवसमेत कहिल्यै फेला नपर्न सक्छन्।’
केही मिनेटको बाढी र पहिरोले पुल, सडक, विद्यालय, घर तथा मानिसहरूको जीविकोपार्जन एकाएक बगाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दिगो विकासका लक्ष्यतर्फ अघि बढिरहेको नेपाललाई विपद्ले ठूलो धक्का पुर्याएको बताए।
हिमाली समुदायलाई तहसनहस बनाएको उक्त विनाशकारी घटनालाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’का रूपमा चित्रण गर्दै उनले यो घटना स्थानीय त्रासदीमा मात्र सीमित नरहेको बताए।
‘भोटेकोसी–त्रिशूली विपद् केवल स्थानीय त्रासदी मात्र थिएन, यो जलवायु संकटबारे विश्वका लागि एउटा ठूलो चेतावनी थियो। के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ ?’ उनले प्रश्न गरे।
करिब तीन वर्षअघि सगरमाथाको आधार शिविर नजिकै उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिवले मानवतामाथि आइरहेको जलवायु संकटबारे चेतावनी दिएको स्मरण गर्दै प्रधानमन्त्री शाहले विश्वले त्यतिबेला आएको चेतावनीलाई पर्याप्त रूपमा नसुनेको बताए।
‘विश्वकै छानोबाट आएको त्यो पुकार पर्याप्त रूपमा सुनिएन। वैज्ञानिकहरूले प्रमाणसहित चेतावनी दोहोर्याए पनि राजनीतिक नेतृत्वले त्यसलाई आवश्यक गति र ठोस कार्यमा रूपान्तरण गर्न सकेन,’ उनले भने।
गत महिना नेपालले भोगेको दुःखद परिणाम त्यसैको नतिजा भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालयको संवेदनशील पारिस्थितिक प्रणालीमा अस्थिरता बढिरहेको बताए।
‘जलवायु परिवर्तनले संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ। पग्लिँदो पर्माफ्रस्ट (स्थायी तुषारो) ले हिमाली भिरालो भागलाई चिरा पारिरहेको छ भने हिमनदीमुनिका संरचना कमजोर भई बरफ र चट्टानको पहिरो जाने जोखिम बढाएको छ,’ उनले भने।
प्रधानमन्त्री शाहले हिमालयमा देखिएका यी संकट नेपालमा मात्र सीमित नरहेको बताए। हिमालयमा बढ्दो जलवायुजन्य जोखिम सिङ्गो विश्वकै साझा चुनौती भएकाले तत्काल ठोस विश्वव्यापी कदम चाल्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित समय : ०६:५९ बजे


















