गृहपृष्ठ इन्द्रजात्रा : जब स्वर्गका राजा इन्द्र काठमाडौंमा बाँधिए

इन्द्रजात्रा : जब स्वर्गका राजा इन्द्र काठमाडौंमा बाँधिए

इन्द्रजात्रा : जब स्वर्गका राजा इन्द्र काठमाडौंमा बाँधिए

काठमाडाैं । इन्द्रजात्रा (येँयाः) काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व हो। विशेषगरी नेवार समुदायले वर्षा, सहकाल र समृद्धिका देवता इन्द्रको पूजा–आराधना गर्दै यो पर्व मनाउँदै आएका छन्। धार्मिक आस्था, पौराणिक कथन र जीवन्त सांस्कृतिक परम्पराको संगमका रूपमा इन्द्रजात्राको विशेष महत्त्व छ।

कसरी बाँधिए इन्द्र ?

इन्द्रजात्रासँग जोडिएको पौराणिक कथनअनुसार भगवान् इन्द्रकी आमा डाकिनी (दगीं) ले वसुन्धराको व्रत बस्न विशेष पूजाका लागि पारिजातको फूल आवश्यक परेको थियो। कतिपय मतमा उक्त फूललाई ‘मन्दार’ वा सेतो स्वाँ/फूलका रूपमा पनि उल्लेख गरिएको पाइन्छ।

स्वर्गलोकमा उक्त फूल नपाइएपछि भगवान् इन्द्र साधारण मानिसको रूप धारण गरी मर्त्यलोकमा ओर्लिए। उनी काठमाडौं उपत्यकाको मनिचूड वा काठमाडौं आसपासको क्षेत्रमा आएको धार्मिक विश्वास छ।

इन्द्रले एक किसानको बगैंचामा सुन्दर पारिजातको फूल देखे। बगैंचाका मालिकसँग अनुमति नलिई फूल टिप्न थालेपछि स्थानीयले उनलाई फूल चोर ठाने। स्थानीयले तान्त्रिक शक्तिको प्रयोग गरी उनलाई नियन्त्रणमा लिए र डोरीले बाँधेर सहरको चोकमा सार्वजनिक रूपमा राखे।

छोरा लामो समयसम्म स्वर्ग नफर्किएपछि आमा डाकिनी इन्द्रलाई खोज्दै काठमाडौं आइपुगिन्। उनले स्थानीयसँग आफ्नो छोरा स्वर्गका राजा इन्द्र भएको बताउँदै उनलाई मुक्त गरिदिन आग्रह गरिन्।

स्थानीयहरू इन्द्रलाई मुक्त गर्न सहमत भए। तर त्यसका लागि उनीहरूले दुईवटा वरदान मागे। खेतीपातीका लागि आवश्यक समयमा वर्षा र कुहिरो उपलब्ध गराउनुपर्ने तथा काठमाडौंमा मृत्यु भएका व्यक्तिका आत्मालाई स्वर्ग पुर्‍याउनुपर्ने उनीहरूको माग थियो।

डाकिनीले दुवै शर्त स्वीकार गरेपछि इन्द्रलाई मुक्त गरिएको धार्मिक कथन छ। त्यसपछि डाकिनीले काठमाडौं उपत्यकामा कुहिरो (दगीं कुहिः) छाडिन्। कुहिरो र शीतले बालीनालीलाई फस्टाउन मद्दत गरेको विश्वास गरिन्छ। यही घटनाको सम्झनामा इन्द्रजात्रा मनाउन थालिएको धार्मिक विश्वास छ।

इन्द्रध्वज ठड्याएपछि सुरु हुन्छ जात्रा

इन्द्रजात्राको औपचारिक सुरुवात भाद्र शुक्ल द्वादशीका दिन हुन्छ। हनुमानढोका दरबारअगाडि काभ्रेको नालाबाट ल्याइएको लिंगोमा इन्द्रध्वजासहितको ध्वजा ठड्याइएपछि जात्रा सुरु हुने परम्परा छ। यो काम मानन्धर समुदायले गर्दै आएको छ।

अनन्त चतुर्दशीका दिन इन्द्रजात्राको मुख्य उत्सव मनाइन्छ। यस अवसरमा जीवित देवी श्रीकुमारी, गणेश र भैरवलाई रथमा विराजमान गराई वसन्तपुर, तल्लो टोल (तनेने) र माथिल्लो टोल (थनेने) हुँदै रथयात्रा गराइन्छ।

जात्राका क्रममा काठमाडौंका विभिन्न स्थानमा परम्परागत नृत्य तथा सांस्कृतिक प्रदर्शन हुन्छन्। मझिया लाखे (सबाः भक्कु), महाकाली नाच, देवी नाच तथा पुलुकिसी अर्थात् हात्ती नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन्।

भैरवको दर्शनदेखि उपाकु वनेगुसम्म

इन्द्रजात्राका अवसरमा श्वेत भैरव र आकाश भैरवको विशेष पूजा तथा दर्शन गरिन्छ। वसन्तपुरस्थित श्वेत भैरवको ठूलो मुखौटाबाट सर्वसाधारणलाई जाँड र रक्सी (हथ्यः हयेगु) प्रसादका रूपमा बाँड्ने परम्परा पनि छ।

इन्द्रचोकमा आकाश भैरवको पूजा तथा दर्शन गरिन्छ। आकाश भैरवलाई किराँती राजा यलम्बरको रूप मान्ने धार्मिक विश्वास छ।

यसै क्रममा दगीं (डाकिनी) र बःमाः जात्रा पनि मनाइन्छ। आफन्त गुमाएका परिवारहरूले दिवंगत आत्माको शान्तिको कामना गर्दै बत्ती बालेर काठमाडौं सहरको परिक्रमा गर्ने परम्परालाई ‘उपाकु वनेगु’ भनिन्छ।

वर्षा ऋतुको बिदाइ, शरदको स्वागत

इन्द्रजात्रा भाद्र शुक्ल पक्षमा मनाइन्छ। यसले वर्षा ऋतुको समाप्ति र शरद ऋतुको आगमनको संकेतसमेत गर्छ। त्यसैले यो पर्व धार्मिक र सांस्कृतिक मात्र नभई कृषि जीवनसँग पनि जोडिएको छ।

इन्द्रजात्राले काठमाडौं उपत्यकाका विभिन्न समुदायलाई सांस्कृतिक रूपमा एकै ठाउँमा जोड्ने काम गर्छ। धार्मिक आस्था, जातीय परम्परा, कला, नृत्य, संगीत र सामाजिक सहभागिताको संयोजनले यसलाई उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रूपमा स्थापित गरेको छ।

इन्द्रजात्राको अन्तिम दिन हनुमानढोकामा गाडिएको लिंगो ढालेर ‘ध्वजपातन’ गरिन्छ। त्यसपछि उक्त लिंगो वागमती नदीमा विसर्जन गरेसँगै इन्द्रजात्रा औपचारिक रूपमा सम्पन्न हुने परम्परा छ।

प्रकाशित समय : ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु