गृहपृष्ठ अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ ९डढुवा० रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् ।

भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको बताए । यो रोगको सङ्क्रमण सुरु भएको एक साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने भएको उनले बताए । विशेष गरी खुर्सानी पाक्ने र बिक्रीका लागि योग्य हुने बेलामा रोगको असर सबैभन्दा बढी देखिने गरेको छ । रोगका कारण किसानको वर्षभरिको मेहनत खेर गइरहेको उनको भनाइ छ ।

खुर्सानी रातो भएर बोटमै पाक्न दिँदा कोत्रे रोगले बढी समात्ने र फल कुहिएर जाने भएकाले किसानले परिपक्व नहुँदै हरियो खुर्सानी टिपेर बजार पठाउन बाध्य भएका छन् । रोगका कारण खुर्सानीलाई रातो बनाएर बोटमा अड्याउनै नसकिने स्थिति बनेको किसानको गुनासो छ ।

स्थानीय कृषक सम्झना प्रधानका अनुसार मुख्य रोगका रूपमा कोत्रे ९डढुवा० नै देखिए पनि खुर्सानीमा अन्य बहुआयामिक समस्या एकैसाथ थपिएका छन् । खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने जस्ता रोगले उत्पादनमा समस्या हुने गरेको उनको भनाइ छ ।

“खुर्सानीमा डढुवा रोगको महामारी देखिएपछि हामी चिन्तामा परेका छौँ,” उनले भने, “डढुवा रोगले सबैभन्दा बढी आर्थिक क्षति पुर्‍याएको छ । खुर्सानी बारी नै सखाप पारेको अवस्था छ ।”

रोगको सङ्क्रमण एउटा बोटबाट तीव्र रूपमा अन्य बोटमा सर्ने भएकाले थप क्षति हुन नदिन किसानहरूले बिग्रिएका र सङ्क्रमित बोट उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनभित्रै सम्पूर्ण बारीभरि फैलिने भएकाले यसलाई नियन्त्रण गर्न कठिन भइरहेको किसानको भनाइ छ ।

भोजपुरमा पछिल्ला वर्षमा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले साना तथा मझौला किसान यसतर्फ आकर्षित भएका थिए । उत्पादनको सुरुवातमै रोग र किराको प्रकोप देखिएपछि उत्पादनमा गिरावट आउने अवस्था रहेको किसानको भनाइ छ ।

खुर्सानीमा मुख्य समस्या देखिएको क्षेत्रमा स्थल तालिम सञ्चालनसँगै, विषादीको प्रयोग तथा अन्य रोकथामका उपायका विषयमा जानकारी दिने काम भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा खुर्सानीमा देखिने डढुवा रोगको समस्या बढेको उनको भनाइ छ ।

उनका अनुसार यस वर्ष भोजपुर जिल्लाभर करिब ५४५ हेक्टरमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गत आर्थिक वर्षमा भोजपुरमा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा २३ करोड भित्रिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बरालले बताए ।

जिल्लाको पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । यी क्षेत्रमा उत्पादन भएका खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायतका सहर निकासी हुने गर्दछ ।

प्रकाशित समय : ०६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु