पवित्र हलेसी धाम बचत तथा सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८३ असोज ३ शनिवार २२:५०
shares

भक्तपुर । पवित्र हलेसी धाम बचत तथा सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा तथा ११औँ संविधान दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरको गठ्ठाघरस्थित संगम सन्देश पार्टी प्यालेसमा आयोजित साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष अर्जुनकुमार गैरापिपलेले गरेका थिए । कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्यको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभामा संस्थाका ७३ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको जनाइएको छ । सो अवसरमा संस्थाले ११ जना ज्येष्ठ सदस्यलाई ‘ज्येष्ठ नागरिक सम्मान’बाट सम्मानित गरेको थियो ।
त्यसैगरी असल बचतकर्ता तथा असल कारोबारकर्तातर्फ ५ जना, हलेसी शैक्षिक संस्थाबाट ४ जना विद्यार्थी र १ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । उत्कृष्ट खेल सञ्चालनतर्फ टीकाबहादुर थापा तथा पीएचडी उपाधि हासिल गरेका डा. हरिकुमार कार्कीलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ ।
संस्थाका उपाध्यक्ष प्रकाशचन्द्र ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजभक्त श्रेष्ठ, भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष जनगनाथ प्रजापति, केन्द्रीय बचत संघका कार्यकारी अधिकृत सुमन घिमिरे, मध्यपुर थिमि नगरपालिकाका कानुन उपसचिव केशव सिलवाल, लेखा अधिकृत सुमित्रा पौडेल तथा संस्थाका सल्लाहकार डिल्लीराय लुइटेलले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार जीत चौहानले स्वागत मन्तव्य राखेका थिए ।
‘सानो पुँजी, ठूलो सपना–हलेसी धामले पूरा गर्नेछ’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै संस्थालाई थप सुदृढ र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता संस्थाका संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशकले व्यक्त गरेका थिए । सोही प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको थियो।

























