गृहपृष्ठ ‘झिंगे दाउ २’ को प्रिमियरपछि प्रतिक्रिया : मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा छ

‘झिंगे दाउ २’ को प्रिमियरपछि प्रतिक्रिया : मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा छ

‘झिंगे दाउ २’ को प्रिमियरपछि प्रतिक्रिया : मनोरञ्जनसँगै पारिवारिक सम्बन्धको कथा छ

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगे दाउ २’ को प्रिमियर शोपछि चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

बुधबार आयोजित प्रिमियर शोमा चलचित्र हेरेपछि कलाकार, चलचित्रकर्मी तथा दर्शकले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आमा–बुबाको महत्त्व र पारिवारिक एकताको विषयलाई चलचित्रले प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रको प्रिमियरपछि निर्देशक देउजा आफैँ पनि दर्शकको प्रतिक्रियालाई लिएर उत्साहित देखिए । उनले आफूले चलचित्र बनाउँदा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको भए पनि आफ्नो कामलाई आफैँले पूर्ण मूल्याङ्कन गर्न नसक्ने बताए । चलचित्र कस्तो बनेको छ भन्ने वास्तविक मूल्याङ्कन दर्शकले गर्ने उनको भनाइ थियो ।

‘प्रिमियरकै फिडब्याकले खासै जजमेन्ट गर्न सकिँदैन, तर एकदमै पोजिटिभ फिडब्याक पाएको छु । मेरो कामको सही मूल्याङ्कन भयो कि भन्ने आशा गरेको छु,’ देउजाले भने ।

उनले चलचित्र निर्माणमा आफ्नो टिमको योगदान महत्वपूर्ण रहेको बताए । कलाकारदेखि प्राविधिक टिमसम्म सबैले आफ्नो सोच र कल्पनालाई पर्दामा उतार्न सहयोग गरेको उनको भनाइ थियो । देउजाले आफ्नै टिमसँग काम गर्दा आपसी ट्यूनिङ मिल्ने र एकअर्काको कुरा बुझ्न सहज हुने भएकाले लामो समयदेखि एउटै टिमसँग काम गर्दै आएको बताए ।

उनका अनुसार चलचित्रमा आँचल शर्मा र केकी अधिकारीले निर्वाह गरेका पात्र पनि कथाको मागअनुसार तय भएका हुन् ।

‘मैले सोचेको कुराहरू उहाँहरूले पर्दामा उतारिदिनुपर्यो, त्यो उहाँहरूले गरिदिनुभयो । सम्पूर्ण कलाकार साथै प्राविधिक टिमको ठूलो मेहेनत परेको छ,’ उनले भने ।

‘झिंगे दाउ २’ ले पहिलो भागलाई मन पराएका दर्शकको अपेक्षा पूरा गर्ने उनको विश्वास छ । उनले दर्शकलाई चलचित्र हेरेर सही सुझाव दिन आग्रह गरे ।

‘मेरो ‘झिंगे दाउ १’ लाई जसरी मन पराइदिनुभएको थियो, त्यसैगरी त्यही मन पराएको कारणले मैले ‘झिंगे दाउ २’ बनाएको हुँ । यो चलचित्रमा इच्छा, आकाङ्क्षा र मनोरञ्जन छ, निराश बनाउँदैन । डबल मजा दिन्छ,’ उनले भने ।

अभिनेत्री आँचल शर्माले चलचित्रमा प्रस्तुत गरिएका कतिपय पारिवारिक घटना नेपाली समाजमा अहिले पनि देखिने गरेको बताइन् । समाजमा देखिएका विभिन्न पात्र र घटनालाई आधार बनाएर आफ्नो चरित्र निर्माण र अभिनय गरेको उनले बताइन् ।

‘भूमिका निर्वाह गर्दा पनि यो समाजमा देखेकै एउटा–दुईटा पात्रबाट एउटा–दुईटा कुरा जोड्दै क्यारेक्टर प्ले गरेका हौँ,’ उनले भनिन् ।

यस्तै ,अभिनेत्री केकी अधिकारीले चलचित्रको कथा प्रस्तुत गरिएको समय र अहिलेको समय फरक भए पनि परिवारभित्रको सम्बन्ध र बुहारीको भावनामा धेरै परिवर्तन नआएको बताइन् ।

उनका अनुसार चलचित्रमा देखाइएको समयको झगडा गर्ने शैली र अहिलेको शैली फरक भए पनि घरभित्र आफूलाई सबैभन्दा प्रिय बनाउन खोज्ने भाव अहिले पनि सान्दर्भिक छ ।

चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी हिउँवाला गौतमले भने ‘झिंगे दाउ २’ लाई दर्शकको आँखाबाट हेर्दा सन्देशमूलक चलचित्र लागेको बताइन् ।

उनले ‘झिंगे दाउ १’ मा जस्तै दोस्रो भागमा पनि परिवारमा आमा–बुबाको भूमिका र अभिभावकलाई दिनुपर्ने सम्मानको विषयलाई प्राथमिकता दिइएको बताइन् ।

गौतमले चलचित्रका केही दृश्यमा आफ्नी स्वर्गीय आमालाई सम्झिएको पनि बताइन् । आफू सुटिङबाट घर फर्किँदा आमाको काखमा बसेर आराम गरेको र आमाले ‘भोक लाग्यो होला, थकाइ लाग्यो होला’ भनेर गर्ने माया सम्झिएको उनको भनाइ थियो ।

गौतमले चलचित्रले परिवारभित्र सुख–शान्ति कायम राख्न र अभिभावकलाई सम्मान गर्न सन्देश दिने बताइन् । श्रीमती र आमा–बुबाबीच दोधारमा पर्ने पुरुषले दुवै पक्षलाई सन्तुलनमा राख्न सके परिवार स्वर्गजस्तै बन्न सक्ने उनको भनाइ थियो ।

त्यस्तै,कलाकार महेश त्रिपाठीले चलचित्रमा देखाइएको पारिवारिक परिवेश अहिले पनि नेपाली समाजमा कुनै न कुनै रूपमा रहेको बताए । समय, परिवेश र परिस्थिति परिवर्तन भए पनि त्यसका केही स्वरूप अझै परिवारभित्र रहेको उनको भनाइ थियो ।

कलाकार किरण केसीले निर्देशक देउजाले संवेदनशील विषयलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिए । उनले चलचित्रका सुरुवाती दृश्यहरू रमाइलो रहेको र दोस्रो भागमा आमाको वेदना तथा छोराहरूको भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताए ।

केसीले विशेषगरी हिउँवाला गौतमको अभिनयको प्रशंसा गर्दै उनको अभिनय ‘आउटस्ट्यान्डिङ’ रहेको प्रतिक्रिया दिए । चलचित्रले समग्रमा मनोरञ्जन दिने उनको भनाइ थियो ।

त्यस्तै, कलाकार जयकिशन बस्नेतले ‘झिंगे दाउ २’ लाई मनोरञ्जनपूर्ण चलचित्रका रूपमा वर्णन गरे । उनले चलचित्र हेर्दा हाँसोसँगै अन्त्यतिर भावुक बनाउने अवस्था आउने बताए ।

‘फिल्म हेरुञ्जेल एकदमै मनोरञ्जन भरिपूर्ण छ । हाँस्यौँ, पेट दुख्ने गरी हाँस्यौँ । निस्किने बेलामा भावुक पनि भयौँ,’ बस्नेतले भने ।

उनले आँचल शर्मा र केकी अधिकारीबीचका झगडाका दृश्यलाई विशेष रूपमा रमाइलो लागेको बताए । साथै महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, आर्यन सिग्देल, सङ्गम भण्डारीलगायत कलाकारको अभिनय पनि राम्रो रहेको उनको प्रतिक्रिया थियो ।

बस्नेतले निर्देशक देउजाको कामको प्रशंसा गर्दै निर्देशक चलचित्रको ‘क्याप्टेन’ भएको र देउजाले राम्रो चलचित्र निर्माण गरेको बताए ।

प्रिमियरमा सहभागी दर्शक अञ्जली शाक्यले चलचित्र मनोरञ्जनात्मक र भावनात्मक दुवै रहेको प्रतिक्रिया दिइन् । कमेडी र भावनात्मक दृश्यको संयोजन आफूलाई मन परेको उनले बताइन् । विशेषगरी दाजुभाइबीचको झगडापछि हुने मिलनको दृश्यले आफूलाई प्रभावित गरेको उनको भनाइ थियो ।

उनले नयाँ पुस्ता स्वतन्त्र हुन चाहने र पुरानो पुस्ता आफ्नो परम्परा तथा परिवारलाई समातेर राख्न चाहने अवस्थाबीच दुवै पक्षबीच सन्तुलन आवश्यक रहेको बताइन् ।

‘झिंगे दाउ २’ मा पारिवारिक सम्बन्धसँगै देउरानी–जेठानीबीचको सम्बन्ध, दाजुभाइको सम्बन्ध, आमा–छोराबीचको भावनात्मक सम्बन्ध र पारिवारिक एकताको विषयलाई कथाको मुख्य आधार बनाइएको छ । चलचित्रले सुरुवातमा हास्य तथा मनोरञ्जन प्रस्तुत गर्दै अन्त्यतिर पारिवारिक भावनालाई जोड दिएको प्रिमियरपछि आएका प्रतिक्रियाले देखाएको छ ।

निर्देशक देउजाले भने चलचित्रको अन्तिम मूल्याङ्कन दर्शककै हातमा रहेको बताएका छन् । प्रिमियरको प्रतिक्रियाबाट उत्साहित भए पनि व्यावसायिक सफलता र दर्शकको वास्तविक प्रतिक्रिया चलचित्र प्रदर्शनपछि मात्रै थाहा हुने उनको भनाइ छ ।

‘मैले त मेहेनत गर्ने हो, प्रयास गर्ने हो । पात्रहरुले पनि राम्रो ग-या छन्, सबैले राम्रो ग-या छन् । त्यही राम्रो भएर त चलचित्र राम्रो भएको होला,’ उनले भने । ‘झिंगे दाउ २’ भोली शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु