गृहपृष्ठ झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
झापा । झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई० विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ । स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको छ ।
“जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो,” उनले भने, “लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यक तयारी गरिएको छ ।”
अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ ।
अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन् । देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन् । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताए ।
“खोप पूर्ण रूपमा सुरक्षित छ । खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि त्यसबाट स्वास्थ्यमा गम्भीर समस्या हुँदैन,” उनले भने, “लक्षित समूहका नागरिकले अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ ।”
उनले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गरे ।
प्रकाशित समय : ०६:१५ बजे


















