गृहपृष्ठ स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका
स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले स्वनिगः क्याम्पसबाट उच्च शिक्षाका कार्यक्रम सञ्चालनबाट स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य हासिल गर्ने कार्यक्रम थालनी गरेको छ ।
अध्ययन गर्नका लागि आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्य र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलसँग सम्झौतासमेत गरिसकेका छन् । उक्त अध्ययन समितिले क्याम्पस सञ्चालनको सम्भाव्यता, उपयुक्त स्थानको पहिचान र लागत सहभागिता, सञ्चालन गर्न आवश्यक तथा उपयुक्त शैक्षिक कार्यक्रम, क्याम्पस सञ्चालन तथा व्यवस्थापनको संस्थागत प्रारुप, सहकार्य तथा साझेदारीको संरचना र सहभागिता, क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक कार्यक्रम, जनशक्ति व्यवस्थापन, प्राज्ञिक तथा गैरप्राज्ञिक प्रशासन, समन्वय, सहजीकरण, समुदायको पहुँच तथा आवश्यक स्रोतको व्यवस्थापनलगायत विषयमा अध्ययन गर्नेछ ।
पाठ्यक्रम निर्धारण, शैक्षिक सत्र, विद्यार्थी भर्ना, कोटा निर्धारण, परीक्षा, क्रेडिट, अनुसन्धान केन्द्र, गुणस्तर सुनिश्चितता, उपाधिसम्बन्धी प्राज्ञिक जिम्मेवारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय तथा प्राज्ञिक संस्थासँग सहकार्य तथा सम्बन्ध, अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन अधिकारका विषयमा अध्ययन सिफारिस गर्नेछ ।
कामपाको उच्च शिक्षा सञ्चालन व्यवस्थापन तथा कार्यक्रमका बारेमा सिफारिस गर्नेछ । यसका लागि तीन दिनभित्र सबै पक्षबाट दुई–दुई जना रहने अध्ययन समिति गठन गरिनेछ । कामपा नगरसभाले आर्थिक वर्ष २०८३÷८४ का लागि स्वीकृत गरेको नीतिअनुसार सञ्चालनमा रहेका विश्वविद्यालयसँग सहकार्य गरेर स्वनिगः क्याम्पस सञ्चालन गर्ने योजना अघि सारेको हो ।
सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले, कामपाका आफैँले स्वनिगः क्याम्पस स्थापना तथा सञ्चालन गरेर नेपाल सरकारसँग समन्वय गर्दै स्वनिगः विश्वविद्यालय सञ्चालनको यात्रा थालिएको बताए । “हामीलाई काठमाडौँ उपत्यकाको सहरी विकास, रैथाने ज्ञान तथा सीपको विज्ञान अध्ययन गरेर स्थानीय समस्याको स्थानीयस्तरमै समाधान दिनसक्ने जनशक्ति चाहिएको छ”, उनले भने ।
त्यस क्रममा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा डा शाक्यले, अन्तरराष्ट्रिय विद्यार्थीका लागि बौद्ध धर्म सम्बन्धि अध्ययन गर्न काठमाडौँ उपयुक्त स्थान भएको बताए । “काठमाडौँको भाषा, कला, संस्कार र संस्कृति तथा परम्परागत वास्तुकलाको अध्ययन गराउन आवश्यक थियो ।”
त्यस क्रममा व्यवस्थापन तथा कानुन सङ्कायका डीन डा शिवराज अधिकारीले, कामपाले छात्रवृत्ति प्रदान गरेर अन्तरराष्ट्रिय विद्यार्थी आकर्षित गर्नसक्ने सम्भावना प्रबल रहेको बताए । त्यसैगरी, लुम्बिनी विश्वविद्यालयका निर्देशक कुमार खड्काले, बौद्ध अध्ययनमार्फत काठमाडौँ र नेपालका पहिचान अन्तरराष्ट्रियस्तरमा लैजान काठमाडौँ उपयुक्त स्थान भएको बताए ।
प्रकाशित समय : २१:१० बजे


















