गृहपृष्ठ आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७ र ११ लाई जोड्ने गरी आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ–११ को बुढाथोकी डाँडा र वडा नं ७ को सेनापुकलाई जोड्ने गरी ४४४ मिटर लम्बाइको पुल निर्माण गरिएको हो ।
सेनापुकका स्थानीय सिद्धार्थ राजमार्गसम्म आइपुग्न एक घण्टा लाग्ने गरेकोमा पुल निर्माण भएपछि १० मिनेटमै आउन सकिने भएको हो ।
झट्ट हेर्दा नजिकै देखिएपनि वारीपारी आवतजावत गर्न घण्टौँ समय लाग्ने गरेको थियो । सेनापुकलगायत आँधीखोला पारी रहेको बाक्लो बस्तीका नागरिकको सहजतासँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा पनि यो उपयोगी हुने गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
“पुल निर्माण सम्पन्न भएपछि यहाँका स्थानीयलाई आवतजावत, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनकालागि सहज र सरल भएको छ” उनले भने, “पुल निर्माणसँगै गल्याङलाई भौतिक, आर्थिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई विकासको नयाँ आयाममा अघि बढाउने अपेक्षा गरेका छौँ ।”
सडक किनारा मै रहेको, अग्लो र लामो झोलुङ्गे पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पनि पर्ने र यसबाट आर्थिक लाभ लिन सकिने उनको दाबी छ । जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले भ्याटसहित चार करोडको लागतमा पुल निर्माण गरेको हो ।
पुल निर्माण भएपछि कृषि तथा पशुपालनका दृष्टिले उपयुक्त रहेको उक्त स्थानमा सम्भावनाका ढोका खुल्ने र जसकाकारण गाउँबाट मानिस शहरमा बसाइ सर्ने दर पनि घट्ने विश्वास लिइएको छ ।
पुल नहुँदा विद्यार्थी पढ्नकालागि झण्डै पाँच किलोमिटर पैदल हिँडेर गल्याङ बजारमा रहेका विद्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य भई अब दुई किलोमिटर हिँड्दा पुग्न सकिने भएको गल्याङ–७ सेनापुकका स्थानीयवासी रामप्रसाद अर्यालले बताए ।
“यहाँका मानिसलाई दैनिक बजार, विद्यालय, अस्पताल जानकालागि गाउँबाट अटोमा तीन सयदेखि ५०० सम्म खर्च लाग्ने गर्थ्यो” उनले भने, “पुल तर्नासाथै सिद्धार्थ राजमार्ग छ, त्यहाँबाट जति बेला पनि गाडी पाइन्छ, पहिलाभन्दा सस्तो र छिटो हुने गरेको छ ।”
स–साना विद्यार्थीलाई विद्यालय पठाउनका लागि गाउँ नजिकैको खोलामा जोखिम हुनसक्ने भएकाले खोला तार्न अभिभावक जानुपर्ने थियो अब पुलको बाटो हुँदै राजमार्गमा आउन पाउने भएपछि त्यो जोखिम पनि हटेको छ ।
पुल निर्माण भई सञ्चालनमा आएपछि गाउँमा एउटा दुई वटा क्षेत्रमाभन्दा पनि बहुआयामिक क्षेत्रमा फाइदा पुगेको दाबी स्थानीय अर्यालको छ ।
प्रकाशित समय : ०५:५९ बजे


















