पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
वि.सं.२०८३ भदौ २६ शुक्रवार १४:४०
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका छन ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताएका हुन ।
सभापति थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने भन्दै महाधिवेशनको तिथीमिति तलमाथि नहुने बताए । संविधान र पार्टीको विधानअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न हुने उनको भनाइ थियो ।
सभापति थापाले पार्टीको महाधिवेशन र चाडपर्वपछि कांग्रेस ७७ वटै जिल्ला र गाउँगाउँ पुग्ने बताए । सबैले पार्टीको महाधिवेशनमा भाग लिने उनले बताए । “पार्टी एकताबद्ध बनाउने ठाउँमा नरम हुने हो, पार्टीभित्रको फोहर सफा गर्ने कुरामा निर्मम हुने हो,” उनले भने ।
सभापति थापाले गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिक जीवनका लागि प्रेरणाका स्रोत भएको र २०४६ सालपछिको राजनीतिक पुस्ताका लागि उनि सधैँ मार्गदर्शक रहेको बताए। उनले विशेष महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउने सन्दर्भमा कांग्रेस नेत्री सुजाता कोइरालाले देखाएको उदारता र सहयोगको प्रशंसा गरे । कांग्रेस नेत्री कोइरालाले पार्टी र युवा नेतृत्वप्रति देखाएको विश्वास र अभिभावकत्वका लागि सभापति थापाले धन्यवाद दिए । उहाँले बिपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको साङ्गठनिक सुदृढीकरणलाई आत्मसात् गर्दै पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अपनाएको आर्थिक उदारीकरण र खुला बजार नीतिले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुगेको सभापति थापाले बताए । “विसं २०४८ देखि २०५१ सालसम्मको गिरिजाबाबुको सरकार नेपालको आर्थिक विकासको ‘स्वर्ण युग’ हो, उक्त समयमा नेपालले जलविद्युत्, दूरसञ्चार, बैंकिङ, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा फड्को मारेको छ,” उनले भने ।
फाउण्डेशनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कोइरालाको भनाइ थियो । नेत्री कोइरालाले जनआन्दोलनका समयमा वर्तमान कांग्रेस सभापति गगनकुमार थापाले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे र फाउण्डेशनका रिसर्च डाइरेक्टर डा तारा बन्जाडेलाई सम्मान गरिएको थियो ।

























