गृहपृष्ठ आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्थाबारे सरकारको ध्यानाकर्षण

आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्थाबारे सरकारको ध्यानाकर्षण

आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्थाबारे सरकारको ध्यानाकर्षण Oplus_131072

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा एक महिलाले आर्थिक अभावमा अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनु परेको अवस्था बारेमा सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनिहरूले नेपालको संविधानले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको भए पनि मुलुकमा यस्तो अवस्था आउनु दुःखद भएको टिप्पणी गरे।

बैठकमा सांसद खगेन्द्र कर्णले राजविराजमा एक महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाको यथार्थका बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरे ।

सांसद अङ्किता ठाकुरले पनि राजविराजमा महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाले राज्य प्रणालीको कुरूप अवस्था चित्रण गरेको उल्लेख गरिन । साथै उनले यसबाट संविधानको मौलिक अधिकार हनन भएको बताइन ।

सांसद धनबहादुर बुढाले भोटेकोशी बाढीले डोल्पालाई पनि प्रत्यक्ष छोएको र सुरुङमा काम गर्ने जिल्लाका स्थानीय नागरिक सम्पर्कविहीन भएकाले खोजीमा तीव्रता दिन र यथार्थ अवस्थाका बारेमा परिवारलाई जानकारी गराउन माग गरे ।

सांसद कालिबहादुर सहकारीले कालीकोटमा पहिरोबाट प्रभावित जनताको बारेमा अवगत गराउँदै उद्धार र राहतका लागि सरकारसँग आग्रह गरे । साथै उनले कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा स्थानीय जनताले यात्रामा कठिनाइ भोग्नु परेको जानकारी गराए ।

सांसद बोधनारायण श्रेष्ठले ग्यासको समस्या यथावत् रहेको र वितरण प्रणालीमा समस्या देखिएको बताए । सरोकारवाला राखेर प्रत्यक्ष प्रसारण गरे समस्या कहाँ छ भनेर जानकारी हुने बताउँदै उनले उपभोक्ताले पनि धेरै ग्यास जम्मा गरेर राख्दा समस्या भएकाले त्यसमा उपभोक्ताले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु