गृहपृष्ठ नेप्से १३.८५ अंकले घट्यो
नेप्से १३.८५ अंकले घट्यो
काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको छ ।
अघिल्लो दिन पनि घटेको नेप्सेले बिहीबार गिरावटलाई निरन्तरता दिएको हो । यस दिन सेन्सेटिभ इन्डेक्स २.४० अंक, फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८० अंकले घटेका छन् ।
बजारमा ३४१ कम्पनीका १ करोड ५ लाख ८८ हजार कित्ता शेयर ४४ हजार १९८ पटकको कारोबारमा किनबेच हुँदा कुल ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबारमा लिबर्टी इनर्जीको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ । कम्पनीको शेयर मूल्य ३२ रुपैयाँ १० पैसा बढेर २४६ रुपैयाँ १० पैसा पुगेको छ । दोल्ती पावरको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी र अप्पर लोहोरे खोला हाइड्रोपावरको करिब ७ प्रतिशतले बढेको छ ।
यता सिन्धु विकास बैंकको शेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बिहीबार १३ वटै उपसमूहका परिसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १।१४ प्रतिशतले घट्दा निर्जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १ प्रतिशतले ओरालो लागेको छ ।
प्रकाशित समय : १६:०६ बजे


















